काठमाडौं । नेपाल सरकारले उपहार स्वरुप दिएका दुई हात्ती आज भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारका लागि उडेका छन ।
कतार एयरवेजको उडान नम्बर क्यू आर ८८२४ अन्तर्गतको बोइङ ७७७ एफ फ्रेटर जहाज मार्फत बुधबार दिउसो ५ बजेपछि खगेन्द्रप्रसाद र रुद्रकली नामका दुई हात्ती विमानस्थलबाट छुटेका हुन् । दुई हात्ती मंगलबार नै चितवनबाट भैरहवा ल्याइएको थियो । यसअघि आज बिहान जहाज भारतको कोलकाता डाइभर्ट भएको थियो । भैरहवाबाट उडान भरेको ४ घण्टामा कतार पुग्ने विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले बताए ।
आज बिहान मौसम खराब हुँदा जहाज कोलाकाता डाइभर्ट भएको थियो । हात्तीहरूसँगै चितवनका एक जना पशु प्राविधिक, रूद्रकलीका माउते बुद्धिलाल श्रेष्ठ तथा खगेन्द्रप्रसादका माउते पाचुखा थारु पनि कतार प्रस्थान गरेका छन् ।
केही समय हात्तीहरूको रेखदेख गर्नेदेखि त्यहाँका कर्मचारीहरूलाई हात्तीको स्याहारसुसार गर्न सिकाएर मात्रै उनीहरू फर्किने छन् । नेपाल सरकारका तर्फबाट कतारलाई उपहारस्वरूप ६ वर्षको भाले हात्ती खगेन्द्रप्रसाद र ७ वर्षकै पोथी हात्ती रुद्रकली पठाइएको हो ।