लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले एकताको सन्देश दिन क्षेत्रीयस्तरमा बृहत् एकता सभा आयोजना गर्ने भएको छ। संघले फेब्रुअरी महिनामा हुने अधिवेशनको तयारी र हालै सम्पन्न भएको एकताको बारेमा जानकारी दिने उद्देश्यले सो भर्चुअल अन्तरक्रिया तथा संवाद कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रमलाई संघका अध्यक्ष डा. बद्री केसी र महेश श्रेष्ठले संयुक्त रूपमा सम्बोधन गर्ने भएका छन्। यस कार्यक्रममार्फत विश्वभरका नेपाली समुदायलाई एकताको सन्देश दिने र सहकार्यमा जोड्ने विश्वास गरिएको छ।
सभाका क्षेत्रगत कार्यक्रम अनुसार मध्यपूर्व तथा अफ्रिका क्षेत्रको कार्यक्रम डिसेम्बर १९ गते बेलुका ७ बजे आयोजना हुने छ। एशिया–प्रशान्त तथा ओसिनिया क्षेत्रको कार्यक्रम डिसेम्बर २० गते दिउँसो ३ बजे, र अमेरिका तथा युरोप क्षेत्रको कार्यक्रम डिसेम्बर २१ गते साँझ ५ बजे सञ्चालन गरिनेछ।
एनआरएनएको यो कार्यक्रमले विश्वभरका नेपालीहरूलाई एकताबद्ध गर्दै आगामी अधिवेशनको तयारी र संगठनको गतिविधिबारे व्यापक जानकारी प्रदान गर्ने अपेक्षा गरिएको छ।
