१४ पुष २०८२, सोमबार
Follow Us

बयान दिन आयोग जाँदै निवर्तमान गृहमन्त्री लेखक

नेपालब्रिटेन संवाददाता
१४ पुष २०८२, सोमबार ०६:०९

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएका घटनाक्रमबारे प्रष्टीकरण दिन निवर्तमान गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता रमेश लेखक आज जाँचबुझ आयोगसमक्ष उपस्थित हुँदैछन् । गत भदौ २३ र २४ गते भएका घटनाका सन्दर्भमा सोधपुछ गर्न आयोगले उनलाई बोलाएको हो ।

आयोगले तोकेको समयअनुसार नेता लेखक आइतबार नै उपस्थित हुनुपर्ने थियो । तर, विशेष कारणवश उनी आज (सोमबार) बयानका लागि जान लागेका हुन् ।

लेखकको सचिवालयले दिएको जानकारीअनुसार, उनी आज दिउँसो १२ बजे बयानका लागि आयोगको कार्यालयमा पुग्नेछन् । आफू आयोगमा गएर बयान दिने विषयमा लेखकले यसअघि नै पार्टी नेतृत्वलाई जानकारी गराइसकेका छन् ।

जेनजी आन्दोलन चर्किएका बेला मुलुकको गृह प्रशासनको नेतृत्व (गृहमन्त्री) रमेश लेखकले नै सम्हालेका थिए । तत्‌कालीन गृहमन्त्रीका हैसियतले आन्दोलन नियन्त्रण र शान्ति सुरक्षाको जिम्मेवारी उनीमाथि थियो ।

यसैबीच, आयोगमा बयान दिएपछि नेता लेखकले मंगलबार (भोलि) विशेष पत्रकार सम्मेलन गर्ने भएका छन् । मंगलबार दिउँसो साढे २ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरिएको सचिवालयले जनाएको छ ।

धेरै पढिएको