काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारतको राजधानी नयाँ दिल्ली जाने भएका छन्।
उनी आज साँझ दिल्ली उड्ने कार्यक्रम तय भएको छ । प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यका अनुसार, यो भ्रमण नितान्त पार्टी एकतापछिको सन्देश प्रवाहमा केन्द्रित छ । दिल्लीमा रहेका तत्कालीन माओवादी र एकीकृत समाजवादी निकटका प्रवासी नेपाली संगठनहरूले आयोजना गरेको ‘एकता सन्देश सभा’ लाई सम्बोधन गर्न उनी त्यसतर्फ जान लागेका हुन् ।
आगामी फागुन २१ गते हुन गइरहेको निर्वाचनको पूर्वसन्ध्यामा प्रचण्डको दिल्ली यात्रालाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ । तर, प्रचण्डको सचिवालयले भने दिल्ली बसाइका क्रममा कुनै पनि उच्चस्तरीय राजनीतिक भेटघाटको कार्यतालिका नरहेको दाबी गरेको छ । सन्देश सभालाई सम्बोधन गरेर संयोजक प्रचण्ड सोमबार (भोलि) साँझ नै स्वदेश फर्किने कार्यक्रम रहेको छ ।