पैस्ली । पछिल्ला वर्षहरूमा उच्च शिक्षाका लागि बेलायत आउने नेपाली विद्यार्थीहरूको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको छ। अवसरहरूको खोजीसँगै रोजगारी, बसोबास, शैक्षिक तयारी, सांस्कृतिक समायोजन, ठगी तथा मानसिक स्वास्थ्य जस्ता चुनौतीहरू पनि थपिँदै गएका छन्।
यिनै समस्यालाई मध्यनजर गर्दै एनआरएनए स्कटल्याण्डले अध्ययनरत नेपाली विद्यार्थीहरूलाई स्वागत, मार्गदर्शन र सहकार्यको वातावरण सिर्जना गर्ने उद्देश्यले “स्टुडेन्ट्स इन्टरएक्सन प्रोग्राम शीर्षकमा विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। ‘स्वागत, कनेक्ट, सपोट एन्ड कम्यूनिटी इन्जेजमेन्ट’ भन्ने मूल नारासहित आयोजित कार्यक्रम पैस्लीस्थित पशुपति मन्दिर गलास्ग्गोमा सम्पन्न भएको हो।
कार्यक्रमको उद्देश्य परिवार र देशबाट टाढा रहेका विद्यार्थीहरूलाई भावनात्मक समर्थन, करियर मार्गदर्शन, शैक्षिक परामर्श तथा समुदायसँग जोड्ने वातावरण तयार गर्नु रहेको आयोजकले जनाएको छ। विद्यार्थी र संस्थाबीच आपसी परिचय, अनुभव आदान–प्रदान, उपलब्ध अवसरहरूको जानकारी तथा एनआरएनए स्कटल्याण्डले प्रदान गर्न सक्ने सहयोगबारे विस्तृत छलफल गरिएको थियो।
एनआरएनए राज्य समन्वय परिषद् स्कटल्याण्डका संरक्षक काशिराम भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव माधव भण्डारीले गर्नुभएको थियो। अध्यक्ष शेरबहादुर केसीले स्कटल्याण्डमा अध्ययनरत नेपाली विद्यार्थीहरूले भोग्नुपरेका चुनौती—विशेष गरी घरधनी तथा केही रोजगारदाता कम्पनीबाट हुने अन्यायपूर्ण व्यवहारप्रति चिन्ता व्यक्त गर्नुभयो। उहाँले नेपाली विद्यार्थीहरूलाई न्यूनतम पारिश्रमिक सम्बन्धी यूके सरकारले तोकेको दरअनुसार भुक्तानी गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभयो। साथै, संस्थाले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
गैरआवासीय नेपाली संघ (एनआरएनए यूके) का महासचिव दिवाकर पाण्डेले संस्थाले यूकेमा अध्ययनरत नेपाली विद्यार्थीहरूको हक, हित र सुरक्षाका विषयमा निरन्तर सक्रिय रूपमा काम गर्दै आएको बताएका छन्। उनले पछिल्लो समय विद्यार्थीहरू विभिन्न चुनौतीहरूबाट गुज्रिरहेका सन्दर्भमा एनआरएनए यूकेको पहल झन् प्रभावकारी बन्दै गएको उल्लेख गरे।
उनका अनुसार विगत तीन महिनाको अवधिमा मात्र संस्थाले पाँच वटा शव व्यवस्थापनको समन्वय गरी स्वदेश पठाउने कार्य सम्पन्न गरेको छ। परदेशमा दुःखद् घटनामा ज्यान गुमाएका नेपालीहरूको सम्मानजनक व्यवस्थापनका लागि संस्थाले स्थानीय निकाय, दूतावास तथा परिवारसँग सहकार्य गर्दै आवश्यक सहयोग पुर्याएको उनले बताए।
त्यसैगरी, समस्यामा परेका दुई जना नेपाली विद्यार्थीलाई परिवारसँग पुनर्मिलन गराउन पनि एनआरएनए यूकेले पहल गरेको जानकारी दिँदै महासचिव पाण्डेले विद्यार्थी सहायता, परामर्श तथा आपत्कालीन सहयोगलाई संस्थाले प्राथमिकतामा राखेको स्पष्ट पारे।
कार्यक्रममा एनआरएनए यूकेको तर्फबाट उपाध्यक्ष राम प्रसाद कँडेल, सचिव कृष्ण देवकोटा, सदस्यद्वय शिवकान्त खराल र झपेन्द्र सापकोटा तथा आईसीसी सदस्य छविलाल आर्याललगायतको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले यूकेमा रहेका नेपाली समुदाय र विशेषगरी विद्यार्थीहरूको हितका लागि संस्थागत सहकार्य अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रममा स्कटल्याण्डका विभिन्न विश्वविद्यालयका प्राध्यापक, अनुसन्धानकर्ता तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। वरिष्ठ शिक्षाविद् तथा प्रमुख सल्लाहकार डा. राम अधिकारीले भिसा समस्या, सांस्कृतिक भिन्नता, मानसिक स्वास्थ्य, रोजगारी खोजी तथा करियर निर्माणका विषयमा प्रकाश पार्दै नेपालबाटै पर्याप्त जानकारी र तयारीसहित आउनुपर्नेमा जोड दिनुभयो।
युनिभर्सिटी अफ द वेस्ट अफ स्कटल्याण्डका लेक्चरर डा. राधा अधिकारी तथा अन्य वक्ताहरूले नर्सिङ अध्ययनका क्रममा विद्यार्थीहरूले भोग्ने कठिनाइ, नेपालस्थित केही एजेन्सीबाट अपूर्ण जानकारी दिइने समस्या तथा यहाँ आइपुगेर सामना गर्नुपर्ने स्क्यामबारे सचेत गराउनुभयो।
पीएचडी विद्यार्थी सबिन सुवेदीले नेपालबाट यूके आउने तयारी, विश्वविद्यालय छनोट, अध्ययनका अवसर र चुनौती तथा रोजगार बजारबारे प्रस्तुति दिनुभयो। उहाँले अपेक्षा र यथार्थबीचको अन्तरबारे आफ्ना अनुभव साझा गर्नुभयो।
त्यस्तै युनिभर्सिटी अफ स्ट्राथक्लाइडका प्रोफेसर डा. चन्द्र थापाले सानातिना समस्याबाट विचलित नभई लक्ष्यप्रति केन्द्रित रहन विद्यार्थीहरूलाई प्रेरित गर्नुभयो। उहाँले आफ्नो शैक्षिक संघर्ष, अनुसन्धान यात्रा र सफलताका अनुभव सुनाउँदै करियर निर्माण र सामुदायिक नेतृत्वबारे महत्वपूर्ण सुझाव दिनुभयो।
विद्यार्थी चक्रप्रसाद जोशीले आफ्ना अनुभव राख्नुभएको थियो भने राजन भट्टले संस्थालाई धन्यवाद दिँदै विद्यार्थीहरूलाई सामूहिक प्लेटफर्ममा जोडिएर सहकार्य गर्न सुझाव दिनुभयो।
यूकेमा विद्यार्थी भिसामा आएका विद्यार्थीहरूले पार्ट–टाइम (आंशिक समय) मात्र काम गर्न पाउने व्यवस्था छ। काम पाउन कठिनाइ, न्यून पारिश्रमिक, अनुभवको अभाव र भाषागत समस्या कारण धेरै विद्यार्थी आर्थिक दबाबमा छन्। अवैध वा असुरक्षित काममा फस्ने जोखिम पनि बढ्दो छ।
त्यस्तै अत्यधिक महँगो भाडा, अग्रिम रकमको दबाब तथा घरधनीबाट हुने ठगीका कारण स्कटल्याण्डका विभिन्न शहरमा विद्यार्थीहरू मानसिक तनावमा परिरहेका छन्। नयाँ देश र प्रणालीबारे जानकारी अभाव हुँदा नक्कली एजेन्ट, फेक जब अफर, बैंक तथा फोन स्क्यामजस्ता घटनामा पनि विद्यार्थीहरू फस्ने गरेका छन्।
खुला छलफल सत्रमा विद्यार्थी, प्यानलिस्ट तथा संस्थाका प्रतिनिधिबीच करियर, अध्ययन चुनौती तथा सामाजिक उत्तरदायित्वबारे गहन संवाद भएको थियो। प्रश्नोत्तर सत्रमार्फत विद्यार्थीहरूले रोजगारी, कोठा भाडा, ठगी र अन्य कठिनाइबारे गुनासो तथा सुझाव प्रस्तुत गरेका थिए।
आयोजकका अनुसार कार्यक्रमले विदेशमा रहेका नेपाली विद्यार्थीहरूबीच एकता, सहयोग र सामुदायिक संलग्नताको बलियो आधार तयार गरेको छ। एनआरएनए स्कटल्याण्डले भविष्यमा पनि यस्ता अन्तरक्रिया, परामर्श तथा क्षमता विकास कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।
“हामी तपाईंका साथमा छौं” भन्ने सन्देशसहित सम्पन्न कार्यक्रमले समुदायमा सकारात्मक ऊर्जा थपेको आयोजकको भनाइ छ।
यसैबीच, एनआरएनए स्कटल्याण्डले आगामी २३ फेब्रुअरी सोमबार एडिन्बरामा रक्तदान कार्यक्रम आयोजना गर्ने जनाएको छ। उक्त रक्तदान कार्यक्रममा सहभागी हुन सम्पूर्ण समुदायलाई हार्दिक अनुरोध गरिएको छ।
बेलायत अवसरहरूको देश भए पनि पर्याप्त तयारीबिना यात्रा कठिन हुन सक्छ। यस्तो अवस्थामा प्रवासी नेपाली संस्थाहरूको सक्रियता विद्यार्थीहरूका लागि आशाको किरण बन्ने अपेक्षा गरिएको छ।



