१४ फाल्गुन २०८२, बिहीबार
Follow Us

चुनावको मुखैमा सिंगापुर उडे देउवा, भोट नहाल्ने निश्चित

नेपालब्रिटेन संवाददाता
१४ फाल्गुन २०८२, बिहीबार ०६:१०

काठमाडौँ । नेपाली काँग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर गएका छन् । देउवा बुधबार राति ११:३० को सिंगापुर एयरलाइन्सको उडानबाट प्रस्थान गरेको विमानस्थल सुरक्षास्रोतले जनाएको छ ।

देउवा बुधबार राति साढे १० बजे अन्तर्राष्ट्रिय टर्मिनल तर्फको स्टेरलाइज एरिया (विमान प्रतीक्षा कक्ष)बाट प्रस्थान गरेका हुन् । पार्टी विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ समिति चयन भएपछि देउवा निष्क्रिय भएर बसेका थिए ।

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनमा यसपटक देउवाको उम्मेदवारी छैन । कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापा सभापति बनेपछि देउवा पार्टीको नेतृत्वबाट अपदस्थ भएका थिए । निर्वाचन आयोग र सर्वोच्च अदालतबाट समेत आधिकारिकता नपाएपछि उनले रुख चिह्नबाटै अन्तिम पटक चुनाव लड्ने इच्छा देखाएका थिए । तर, वर्तमान संस्थापन पक्षले टिकट नदिएपछि २०४८ सालयता डडेल्धुराबाट लगातार सात पटक अपराजित देउवा यसपटक रिङ आउट भएका हुन् ।

डडेल्धुरामा उनको सट्टा उनीनिकटकै युवा नेता नैनसिंह महरले टिकट पाएका छन् । पछिल्लो समय ‘बदलिएको कांग्रेस’ को नारा दिइरहेको वर्तमान संस्थापन पक्षले देउवालाई चुनावी अभियानमा सहभागी गराउन वा रुख चिह्नमा भोट माग्ने एउटा अपिलमात्र भए पनि सार्वजनिक गर्न अनेकौँ प्रयास गरेको थियो । कांग्रेस प्रवक्ता देवराज चालिसेले पूर्वसभापतिलाई पार्टीको अभियानमा जोड्ने प्रयास भइरहेको बताए पनि देउवा भने टसमस भएनन् ।

धेरै पढिएको