काठमाडौं । आगामी फागुन २१ गते हुन गइरहेको निर्वाचनलाई लक्षित गर्दै देशभरको सुरक्षा व्यवस्था कडा पारिएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मतदानको एक साता अघिदेखि नै मदिरा बिक्री-वितरण र सेवनमा पूर्ण रूपमा रोक लगाइएको छ ।
निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ को दफा ३ बमोजिम गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले मादक पदार्थमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो । उक्त निर्णय अनुसार मतदानको मितिभन्दा सात दिन अघिदेखि निर्वाचनको अन्तिम परिणाम सार्वजनिक नहुन्जेलसम्म मदिराजन्य पदार्थको कारोबार तथा सेवन गर्न पाइने छैन ।
फागुन २१ गते बिहान ७ बजेदेखि मतदान प्रक्रिया सुरु हुनेछ । त्यसअघि फागुन १८ गते राति १२ बजेदेखि नै निर्वाचनको प्रचारप्रसार गर्न नपाइने (मौन अवधि) नियम लागू हुनेछ । यस अवधिमा निर्वाचन आचारसंहिताको कडाइका साथ पालना गराउन गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायलाई विशेष निर्देशन दिएको छ ।
आचारसंहिता उल्लङ्घनका घटना रोक्न जिल्ला आचारसंहिता अनुगमन समितिले विशेष संयन्त्र परिचालन गर्नेछ । निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ र निर्वाचन आचारसंहिता, २०८२ को दफा १७ तथा १८ विपरीतका गतिविधि हुन नदिन सुरक्षा निकायलाई चनाखो राखिएको छ । यदि कसैले नियम विपरीतका कार्य गरेको पाइएमा तत्काल कानुन बमोजिम कारबाही गरी आयोगलाई जानकारी गराउन सम्बन्धित निकायलाई निर्देशन दिइएको निर्वाचन आयोगका अधिकारीहरूले बताए ।
यसैगरी, मतदानको दिन आवागमनमा पनि कडाइ गरिनेछ । फागुन २० गते राति १२ बजेदेखि २१ गते साँझ मतदान कार्य सम्पन्न नहुन्जेलसम्म अनुमति प्राप्त बाहेकका सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाइनेछ ।
यद्यपि, अत्यावश्यक सेवाका सवारी साधनहरू भने निर्बाध रूपमा गुड्न पाउनेछन् । एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चारका साधन, सुरक्षा निकायका गाडी, विद्युत्, खानेपानी तथा ढल र दूरसञ्चार मर्मतमा प्रयोग हुने सवारी साधनलाई रोक लगाइएको छैन । यसका अतिरिक्त कूटनीतिक नियोगका सवारी र निर्वाचन आयोगबाट विशेष पास लिएका साधनहरू पनि सञ्चालन हुन पाउनेछन् ।