२७ चैत्र २०८२, शुक्रबार
Follow Us

मध्यपूर्वका विमानस्थलहरूमा कोही नेपाली अलपत्र छैनन्: सरकार

नेपालब्रिटेन संवाददाता
२७ चैत्र २०८२, शुक्रबार ११:३३

काठमाडौँ । सरकारले मध्यपूर्वका विभिन्न देशका विमानस्थलहरूमा कुनैपनि नेपाली नागरिक अलपत्र अवस्थामा नरहेको प्रष्टयाएको छ । शुक्रवार सिंहदरबारमा पत्रकार सम्मेलन गरी परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सो कुरा प्रस्ट्याएका हुन् ।

उनले सो क्षेत्रका तनावका कारण स्वदेश फर्कन चाहने नेपालीहरूका लागि सरकारले हवाई उडानको पनि आवश्यक व्यवस्था मिलाएको बताए । परराष्ट्र मन्त्रालयकाअनुसार सो क्षेत्रबाट स्वदेश फर्कन चाहनेहरू कहीँ कतै पनि अप्ठ्यारोमा रहेका छैनन् । नेपाल आउन चाहने कुनैपनि नेपालीलाई नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स लगायतबाट स्वदेश फर्काउने काम भइरहेकाले त्यस्ता खालका कुनै समस्या भएपनि त्यो छिट्टै समाधान हुने परराष्ट्र मन्त्रालयको दाबी छ ।

परराष्ट्र मन्त्रालयको प्रवक्ता पौडेलले भने ‘अहिले पश्चिम एशिया क्षेत्रमा कहीँ पनि नेपाली नागरिकहरू ट्रान्जिटमा रहनुभएको भन्ने हामीलाई जानकारी छैन । मैले अघि नै जानकारी गराए कि हाम्रो दूतावास, उक्त क्षेत्रका नियोगहरू हाम्रो हटलाइन लगायतको जुन सिस्टम छ । पछिल्लो हामी हेर्दाखेरि त्यो खालको हामीलाई केही कतै जानकारी छैन । र त्यहाँबाट जति पनि नेपाल आउन चाहने नेपालीहरू हुनुहुन्छ । उहाँहरूलाई पनि यो हवाई सम्पर्क आकाश खुलेसँगै हवाई सेवा सुचारु हुन लागेको अवस्थामा उहाँहरू आउन सक्ने अवस्था सृजना भएको छ । यहाँहरूलाई जानकारी छैन । माननीय परराष्ट्र मन्त्रीज्यूको पहलमा नेपालको हवाई सेवा प्रदायकहरूसँगको निर्णयअनुसार नेपाल एयरलाइन्स, हिमालय एयरलाईन्सलगायतले जन उडान सुरु गर्ने भन्ने थियो । त्यो सुरु भइसकेकाले यो समस्या छिटै समाधान हुँदै जानेछन् ।’

मन्त्रालयकाअनुसार स्वदेश फर्कन चाहने नेपालीहरूको हवाई उडानको समस्या समाधान गर्न सरकारले विशेष पहल गरिरहेको छ ।

धेरै पढिएको