७ बैशाख २०८३, सोमबार
Follow Us

त्रिभुवन विमानस्थलबाट एक महिनामा ७ लाखभन्दा बढी यात्रुको आवागमन

नेपालब्रिटेन संवाददाता
७ बैशाख २०८३, सोमबार ११:२८

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत एक महिनाको अवधिमा ७ लाखभन्दा बढी यात्रुले सेवा लिएका छन्। विमानस्थल कार्यालयका तथ्यांक अनुसार मार्च २०२६ मा कुल ७ लाख ११ हजार ३ सय ५७ यात्रु आवागमन भएका हुन्। यसमध्ये अन्तर्राष्ट्रिय र आन्तरिक दुवै उडानमार्फत उल्लेख्य संख्या यात्रुले सेवा लिएका छन्।

अन्तर्राष्ट्रिय उडानतर्फ कुल ३ लाख ७५ हजार ६ सय ७४ यात्रु आवागमन भएको देखिएको छ भने आन्तरिक उडानतर्फ ३ लाख ३५ हजार ६ सय ८३ यात्रु यात्रा गरेका छन्।

उक्त अवधिमा अन्तर्राष्ट्रिय सेवामा २८ वटा वायुसेवा कम्पनी सक्रिय रहेका थिए। विमानस्थलको विवरणअनुसार अन्तर्राष्ट्रिय उडानमार्फत १ लाख ९२ हजार १ सय ५५ यात्रु विदेश प्रस्थान गरेका छन् भने १ लाख ८३ हजार ५ सय १ यात्रु नेपाल प्रवेश गरेका छन्।

सोही महिनामा अन्तर्राष्ट्रिय क्षेत्रमा कुल २ हजार ५ सय ६९ उडान तथा अवतरण भएका छन्। तीमध्ये १ हजार २ सय ८६ उडान र १ हजार २ सय ८३ अवतरण भएको जनाइएको छ।

वायुसेवा कम्पनीगत तथ्यांकअनुसार एयर अरेबियाले सबैभन्दा धेरै यात्रु बोक्दै ५० हजार ५ सय २७ यात्रुलाई सेवा दिएको छ। नेपाल एयरलाइन्सले ३८ हजार ५ सय ९५ यात्रु, इन्डिगो एयरले ३६ हजार ३ सय २६, एयर इन्डियाले २९ हजार ९ सय ३४, थाई एयरवेजले २२ हजार १ सय ८४, हिमालय एयरलाइन्सले १७ हजार १ सय ६३ तथा टर्किस एयरलाइन्सले १५ हजार ७ सय ३५ यात्रु ओसारपसार गरेको विवरण छ। कतार एयरवेजसहित केही कम्पनीको उडान भने अन्तर्राष्ट्रिय परिस्थितिका कारण प्रभावित भएको उल्लेख गरिएको छ।

आन्तरिक उडानतर्फ १ लाख ६४ हजार ९ सय २२ यात्रु प्रस्थान गरेका छन् भने १ लाख ७० हजार ७ सय ६१ यात्रु अवतरण गरेका छन्। यस अवधिमा कुल ७ हजार ९ सय ६२ आन्तरिक उडान तथा अवतरण भएका छन्, जसमा ३ हजार ९ सय ८३ उडान र ३ हजार ९ सय ७९ अवतरण समावेश छन्।

आन्तरिकतर्फ यात्रु संख्यामा बुद्ध एयर अग्रस्थानमा रहेको छ, जसले १ लाख ८२ हजार ५ सय ९ यात्रुलाई सेवा दिएको छ। त्यसपछि यती एयरलाइन्सले ७४ हजार ९ सय ४० तथा श्री एयरलाइन्सले ६४ हजार ५ सय ५४ यात्रु ओसारपसार गरेको विमानस्थलको तथ्यांकमा उल्लेख छ।

धेरै पढिएको