धनकुटा — झोलुङ्गे पुल कुनै समय दुर्गम पहाडी जनजीवनको अभिन्न अंग थिए। बर्खाका बेला उर्लने खहरे होस् वा बाह्रै महिना बग्ने खोलानाला, तिनका माथि बनेका झोलुङ्गे पुल बटुवाका लागि सुरक्षित र भरपर्दो विकल्प थिए।
विद्यालय जाने बालबालिका, बिरामी बोकेर स्वास्थ्यचौकी धाउने आफन्त, दैनिक उपभोगका सामग्री किनमेल गर्न बजार जाने स्थानीय-सबैका लागि यस्ता झोलुङ्गे पुलले यात्रा छोट्याउने मात्र होइन, जीवन नै सहज बनाएको थियो।
ओल्लो र पल्लो गाउँको साइनो जोडेका धनकुटाका अधिकांश झोलुङ्गे पुल अब प्रयोगविहीन बन्दै गएका छन्। धनकुटा नगरपालिका–५ खनियाबास र छथर जोरपाटी गाउँपालिका–३ को बन्चरे पुछार जोड्ने ताङखुवा खोलामाथिको झोलुङ्गे पुल यस्तै नियतिको साक्षी बनेको छ।
एक समय खोला तर्नका लागि धनकुटाको तेलिया, ताङखुवा र तेह्रथुमको फयाक, शुक्रबारे र फाक्चामारा सम्मका बटुवाले आवतजावतका लागि प्रयोग गरेको यो पुल अहिले पूर्ण रूपमा प्रयोगविहीन छ। धनकुटा सदरमुकामबाट बिहीबारे हाट, कर्मिटार, खनियाबास, बन्चरे, तेलिया हुँदै खोक्तापसम्म कालोपत्रे सडक बनेपछि बटुवाको पाइला यस पुलतर्फ फर्किएको छैन। कहिलेकाहीँ सवारी साधनका यात्रुले रोकेर यहाँ फोटो खिच्ने गर्छन्।
यस्तै अवस्था धनकुटा नगरपालिका–३ को सिप्तिङ पुछार र वडा–२ को भिरगाउँ जोड्ने निबुवा खोलामाथिको झोलुङ्गे पुलको पनि छ। माथिबाट झरेका ढुङ्गाले संरचना क्षतिग्रस्त बनाइसकेको छ। बटुवा हिँड्न छाडेपछि पुलसमेत एक्लिएको छ।
छथर जोरपाटी–४ को तेलिया खोलामा बनेको कङ्सुवा पुल पनि उस्तै नियतिमा छ। लामो समयदेखि यो पुल पनि प्रयोगमा छैन। बटुवा र खेतीपातीका लागि हिँड्ने किसानसमेत नभएपछि उक्त झोलुङ्गे पुलको प्रयोग हराएको हो।