१ श्रावण २०८३, शुक्रबार
Follow Us

एनआरएनए आइसीसीमा बेलायतबाट ५ जना सल्लाहकार मनोनयन

नेपालब्रिटेन संवाददाता
१ श्रावण २०८३, शुक्रबार ०४:२४

काठमाडौं । गैरआवासीय नेपाली संघको हालै सम्पन्न ११५ औँ अन्तरराष्ट्रिय समन्वय परिषद (आइसीसी) को बैठकले ५१ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ।

संयुक्त अधिराज्यको प्रतिष्ठित अक्सफोर्ड विश्वविद्यालयका मानवशास्त्री प्रोफेसर डेभिड गेल्नर, बेलायतमै प्राध्यापन र जनस्वास्थ्यको क्षेत्रमा स्थापित नाम प्रा. पदम सिम्खडा र बीबीसीका पूर्व पत्रकार भगीरथ योगीलाई उनीहरूको लामो अनुभव र विज्ञताका आधारमा आईसीसी सल्लाहकार मनोनित गरिएको छ । त्यस्तै, एनआरएनए युकेको नेतृत्व सम्हालिसकेकी महिला नेत्री पुनम गुरुङ र एनआरएनए अभियानका अभियन्ता लक्ष्य गुरुङलाई पूर्व पदाधिकारी तथा अगुवाका रूपमा संघको आईसीसी सल्लाहकार समितिमा सर्वसम्मत मनोनयन गरिएको छ।

यसै गरी महिला तथा दोस्रो पुस्ता कोटाबाट बेलायतमा रहेकी क्रियाशील महिला नेत्री कल्पना त्रिपाठीलाई आईसीसी सदस्यमा मनोनयन गरिएको छ। दोस्रो पुस्ताका नेपाली युवाहरूलाई संघसँग जोड्न र उनीहरूको आवाज बुलन्द गर्न बेलायतका उदीयमान युवाहरू गौरव राज केसी र जागृत पौडेललाई पनि युवा तथा दोस्रो पुस्ताको प्रतिनिधित्व गर्दै आईसीसी सदस्यको रूपमा चयन गरिएको छ।

यसका साथै, चिकित्सा क्षेत्रमा स्थापित वरिष्ठ चिकित्सक डा. सुनील साहलाई उनको स्वास्थ्य क्षेत्रको विशेष योगदान र विज्ञताका आधारमा आईसीसी सदस्यमा मनोनयन गरिएको छ भने बेलायतबाट एनआरएनए अभियानमा निरन्तर क्रियाशील राजन खकुरेल र सामाजिक रूपमा सक्रिय राम चन्द्र गुरुङलाई पनि ११५ औँ बैठकले आईसीसी सदस्यका रूपमा अनुमोदन गरेको छ। यस्तै अडिट कमिटीमा एलएन पाण्डे र इन्द्र गिरीलाई मनोनित गरिएको छ ।

संघको नयाँ कार्यसमिति (२०२५-२०२७) का लागि विभिन्न रिक्त पदहरूमा मनोनयन प्रक्रियालाई पूर्णता दिएको छ । सांगठनिक सुदृढीकरण, एकता र विभिन्न विभागहरूको प्रभावकारी सञ्चालनका लागि संघले विश्वभरबाट पदाधिकारी, सल्लाहकार तथा आईसीसी सदस्यहरू चयन गर्ने क्रममा संयुक्त अधिराज्य बेलायतबाट लामो समयदेखि सामाजिक, प्राज्ञिक र व्यावसायिक क्षेत्रमा सक्रिय रहेका ११ जना प्रभावशाली व्यक्तित्वहरूलाई समेटेको छ ।

संघको केन्द्रीय सचिवालय र नीति निर्माण तहमा बेलायतको उपस्थितिलाई थप बलियो बनाउँदै एनआरएनए अभियानमा लामो समयदेखि सक्रिय प्रसुना कडेललाई अन्तर्राष्ट्रिय समन्वय परिषदको केन्द्रीय सचिव पदमा मनोनयन गरिएको छ ।

गैरआवासीय नेपाली संघको ११५ औँ बैठकले पारित गरेको सांगठनिक र नेतृत्व कार्ययोजनामा बेलायत (UK) बाट समेटिएका यी प्राज्ञिक, व्यावसायिक, पत्रकारिता र युवा क्षेत्रका अनुहारहरूले आगामी दिनमा संघको साख उच्च बनाउनुका साथै बेलायतमा रहेका दोस्रो पुस्ताका नेपालीहरूलाई नेपाल र नेपालीपनसँग जोड्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

धेरै पढिएको