१ श्रावण २०८३, शुक्रबार
Follow Us

दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा रिहा गर्न अदालतको आदेश

नेपालब्रिटेन संवाददाता
१ श्रावण २०८३, शुक्रबार ०४:२५

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले धितोपत्र तथा बिमासम्बन्धी कसुरमा अभियोग लागेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले थुनछेक बहसपछि दुवै जनालाई धरौटीमा छाड्ने आदेश दिएको हो।

न्यायाधीश आचार्यको इजलासले बिमा ऐन २०७९ अन्तरगतको कसुरमा सुलभ अग्रवालसँग २ करोड र दीपक भट्टसँग डेढ करोड धरौटी माग गरेको हो। धितोपत्र सम्बन्धी ऐन २०६३ अन्तरगतको छुट्टै कसुरमा सुलभ अग्रवालसँग २ करोड ३० लाख धरौटी माग गरिएको छ भने दिपक भट्टसमेत जोडिएको अर्को कसुरमा पनि धरौटी मागकै आदेश भएको छ। उक्त ८१ जना संलग्न रहेको अभियोगमा अग्रवालसँग १ करोड ५० लाख र भट्टसँग एक करोड धरौटी माग गर्ने आदेश भएको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी शिव खतिवडाले जानकारी दिए।

दीपक भट्ट र सुलभ अग्रवालमाथि पछिल्लो समय विभिन्न आर्थिक अपराधसँग सम्बन्धित अनुसन्धान चलिरहेको छ। यसअघि सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा उनीहरूमाथि विशेष अदालतमा पनि सुनुवाइ भइरहेको थियो।

अदालतको पछिल्लो आदेशसँगै धितोपत्र तथा बिमासम्बन्धी कसुरको मुद्दामा उनीहरू धरौटी बुझाएर कानुनी प्रक्रिया बाहिरबाटै सामना गर्न पाउने भएका छन्। अन्य मुद्दाको प्रक्रिया भने सम्बन्धित अदालत र निकायमा यथावत् रहनेछ।

धेरै पढिएको