१० श्रावण २०८३, आईतवार
Follow Us

कार्यालय आइनपुगेपछि रश्मीको सुरु भयो खोजी

नेपालब्रिटेन संवाददाता
१० श्रावण २०८३, आईतवार १०:३६

काठमाडौं । नक्सालस्थित सानिमा क्यापिटल लिमिटेडमा कम्प्लायन्स अफिसर तथा प्रवक्ताका रूपमा कार्यरत रश्मी शुक्रबार बिहान करिब ७:११ बजे कार्यालय जान भन्दै घरबाट निस्किएकी थिइन् । परिवारलाई पनि उनले कामका कारण चाँडै पुग्नुपर्ने बताएकी थिइन् ।

तर उनी त्यसदिन कार्यालय नै पुगिनन् । नियमित रूपमा कार्यालय आउने र बिना जानकारी बिदा नबस्ने रश्मी सम्पर्कविहीन भएपछि सहकर्मीहरूले परिवारलाई खबर गरेका थिए । उनको मोबाइल बन्द थियो भने अन्तिम लोकेसन नेपालटार–बनियाटार क्षेत्रमा देखिएको थियो । परिवारले नेपालटार, बनियाटार, टोखा, बुढानीलकण्ठ, बालाजु, नुवाकोट, चितवनलगायत क्षेत्रमा खोजीका लागि सार्वजनिक अपिल गरेको थियो ।

परिवारले विभिन्न स्थानमा खोजी अभियान चलाए पनि कुनै जानकारी नपाएपछि शुक्रबार साँझ उनका श्रीमानले प्रहरीमा खोजतलासको निवेदन दिएका थिए । त्यसको भोलिपल्ट शनिवार उनको शव कारभित्र जलेको अवस्थामा भेटिएको हो ।

घटनापछि सामाजिक सञ्जालमा रश्मीको मृत्युलाई सेयर बजारमा भएको घाटासँग जोडेर विभिन्न दाबी गरिए । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले पनि सामाजिक सञ्जालमार्फत सेयर बजारमा लगानी डुबेको तनावका कारण उनले आत्मदाह गरेको दाबी गरेका थिए ।

उनले लेखेका छन्, ‘फागुनदेखि अहिलेसम्म करिब रु. २.१५ खर्ब (करिब रु. २१५ अर्ब) सेयर लगानीकर्ताले रकम गुमाए । सेयर बजार ध्वस्त भयो । रश्मी रिजाल आत्महत्या गर्न बाध्य भइन् अर्थमन्त्रीज्यू, यो विषयलाई गम्भीरताका साथ लिनुहोस् ।’

उनले अर्थमन्त्री स्वर्णिम वाग्लेको नीतिका कारण आज सेयर बजार ध्वस्त भएको र देशका हजारौँ लगानीकर्ता ठूलो आर्थिक संकट र तनावमा परेको लेखे । उनीजस्तै धेरै मानिसले रश्मी सेयर बजारमा लगानी डुबेको कारण तनावमा रहेको र यस्तो कदम उठाएको अड्कलबाजी गरिरहेका छन् ।

तर रश्मीलाई नजिकबाट चिन्ने सहकर्मीहरूले यस्तो दाबी तथ्यमा आधारित नभएको बताएका छन् । उनीहरूका अनुसार रश्मी व्यक्तिगत रूपमा ठूलो जोखिम लिएर दोस्रो बजारमा लगानी गर्ने स्वभावकी थिइनन् । उनी जिम्मेवार, शान्त र व्यावसायिक व्यवहार गर्ने कर्मचारीका रूपमा परिचित थिइन् ।

सहकर्मीहरूका अनुसार उनी ग्राहकसँग नम्र भएर बोल्ने तथा विषयवस्तु बुझेर व्यवहार गर्ने गर्थिन् । ‘उहाँ जोखिम मोलेर आफैं ठूलो लगानी गर्ने प्रकृतिको व्यक्ति होइन, उनका एक सहकर्मीले भने, ‘सेयर बजारमा डुबेको कारण यस्तो कदम उठाएको भन्ने मलाई विश्वास लाग्दैन ।’

प्रहरीले पनि अनुसन्धान पूरा नभएसम्म कुनै पनि अनुमानलाई तथ्यका रूपमा प्रचार नगर्न र अपुष्ट सूचना फैलाउनबाट जोगिन सबैलाई आग्रह गरेको छ ।

धेरै पढिएको