लन्डन । भोटेकोशी नदीमा गत अगस्ट २६ मा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूको राहत, पुनर्स्थापना तथा दीर्घकालीन पुनर्निर्माणका लागि आर्थिक सहयोग जुटाउन लन्डनस्थित नेपाली दूतावासले छुट्टै बैंक खाता खोलेको छ ।
यस विपत्तिको घडीमा बेलायतमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदाय, परोपकारी संस्था, व्यवसायी, नेपालका मित्र तथा शुभेच्छुकहरूलाई मानवीय सहयोग प्रदान गर्न दूतावासले हार्दिक अपिल गरेको छ। दूतावासको नाममा रहेको बैंक खातामा जम्मा हुने सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिने दूतावासले जनाएको छ।
‘दूतावास पनि सरकारकै निकाय भएकाले बाढी पीडितलाई सहयोग गर्न इच्छुक व्यक्ति तथा संस्थालाई सहज होस् भन्ने हिसावले यूकेकै बैंक खाता खोलेका हौं’, बेलायतका लागि नेपालका कार्यवाहक राजदूत विपिन दुवाडीले भने, ‘यस डेडिकेटेड खातामा जम्मा भएको पैसा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाउंछौं ।’
सहयोग रकम पठाउन:
Lloyds Bank
Embassy of Nepal
Sort Code: 30-65-41
Account Number: 53896060
रकम हस्तान्तरण गर्दा ‘पर्पस’ वा ‘रेफरेन्स’ मा अनिवार्य रूपमा ‘डोनेसन’ वा ‘सपोर्ट’ उल्लेख गर्न दूतावासको आग्रह छ।
आर्थिक पारदर्शिता र अभिलेख व्यवस्थापनका लागि सहयोगदाताहरूले बैंक रसिद वा भुक्तानीको प्रमाणको प्रतिलिपि दूतावासको इमेल ठेगाना accounts@nepembassy.org.uk मा पठाउनसमेत अनुरोध गरिएको छ।
दूतावासले यस कठिन समयमा नेपाल र नेपाली जनताप्रति ऐक्यबद्धता र सहयोग प्रकट गर्ने सम्पूर्ण सहयोगी तथा संस्थाहरुप्रति हार्दिक आभार व्यक्त गरेको छ।
बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लाका नदी तटीय क्षेत्रहरूमा ठूलो मानवीय क्षति हुनुका साथै सार्वजनिक पूर्वाधार, निजी सम्पत्ति र आवासहरूमा व्यापक क्षति पुगेको दूतावासले जनाएको छ।
नेपाल सरकारले खोज, उद्धार र राहतका कार्यहरूलाई तीव्रता दिइरहेको र प्रभावित क्षेत्रको पुनर्स्थापना र पुनर्निर्माणका लागि ठूलो मात्रामा आर्थिक स्रोतको आवश्यकता पर्ने दूतावासले उल्लेख गरेको छ।