२८ भाद्र २०८३, आईतवार
Follow Us

कतारका नेपालीबाट भोटेकोशी बाढीपीडितका लागि ५८ लाख सहयोग

नेपालब्रिटेन संवाददाता
२८ भाद्र २०८३, आईतवार २१:२२

दोहा — भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि कतारस्थित नेपाली समुदायले ५८ लाख १४ हजार ४३२ रुपैयाँ सहयोग जुटाएको छ। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसिसी) कतारको पहलमा संकलित उक्त रकम शनिबार गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसिसी) का पदाधिकारीलाई हस्तान्तरण गरिएको हो।

एनआरएनए एनसिसी कतारका अध्यक्ष कृष्ण पन्थीको संयोजकत्वमा गठित राहत संकलन समितिले अभियान सञ्चालन गरेको थियो। समितिमा कतारमा रहेका विभिन्न प्रदेश, जिल्ला तथा नेपाली संघसंस्थाका अध्यक्ष र प्रतिनिधिलाई सदस्यका रूपमा समेटिएको थियो।

अभियानअन्तर्गत कतारमा रहेका विभिन्न नेपाली समन्वय परिषद्, जिल्ला संस्था, सामुदायिक तथा सांस्कृतिक संस्था, सामाजिक संघसंस्था र व्यक्तिगत रूपमा नेपालीहरूले स्वेच्छिक आर्थिक सहयोग गरेका थिए।

संकलित रकम शनिबार आयोजित कार्यक्रममा एनआरएनए आइसिसीका पूर्वअध्यक्ष आरके शर्मा, वर्तमान कार्यसमितिका उपमहासचिव मोहम्मद मुक्तदा मुसलमान, सचिव पदम गिरीलगायतका पदाधिकारीलाई हस्तान्तरण गरिएको हो।

एनआरएनए एनसिसी कतारका अनुसार हस्तान्तरण गरिएको रकम एनआरएनए आइसिसीमार्फत नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ।

रकम हस्तान्तरण कार्यक्रममा वक्ताहरूले विपद्को समयमा कतारस्थित नेपाली समुदायले निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै राहत संकलन अभियानको प्रशंसा गरे। उनीहरूले प्राकृतिक विपद्को समयमा नेपाली समुदायबीचको एकता, सहकार्य र मानवीय सहयोगलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

एनआरएनए एनसिसी कतारका अध्यक्ष कृष्ण पन्थीले अभियानमा सहयोग गर्ने व्यक्ति, संघसंस्था तथा दाताप्रति आभार व्यक्त गरे। उनले भोटेकोशीमा आएको विपद्लाई नेपालभित्रको मात्र समस्या नभई संसारभर रहेका नेपालीको साझा पीडाका रूपमा लिनुपर्ने बताए।

पन्थीले तत्कालीन राहतसँगै प्रभावित परिवारको घर, जीविकोपार्जन तथा सामाजिक संरचनाको पुनःस्थापनामा पनि दीर्घकालीन सहयोग आवश्यक रहेको बताए। उनले राजनीतिक, भौगोलिक, जातीय तथा संस्थागत सीमाभन्दा माथि उठेर विपद्का बेला नेपाली समुदाय एकजुट हुनुपर्नेमा जोड दिए।

यसैबीच एनआरएनए एनसिसी कतारले कतारबाट नेपालका बाढी तथा अन्य प्राकृतिक विपद्का लागि पठाइएको समग्र सहयोगको विवरण संकलन गरी अभिलेख तयार गर्ने भएको छ।

परिषद्ले थप एक साताको समय राखेर कतारमा रहेका नेपाली तथा विभिन्न संघसंस्थाले व्यक्तिगत वा संस्थागत रूपमा विभिन्न माध्यमबाट नेपाल पठाएको सहयोगको विवरण संकलन गर्ने जनाएको छ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलगायत विभिन्न माध्यमबाट नेपाल पठाइएको रकमको विवरण एकीकृत गरी कतारबाट विपद्का समयमा भएको कुल सहयोगको तथ्यांक तयार गरिने परिषद्ले जनाएको छ।

परिषद्का अनुसार यसअघि विभिन्न व्यक्ति तथा संस्थाले आ–आफ्नै पहलमा सहयोग गर्दै आए पनि ती सबैको एकीकृत अभिलेख नहुँदा कतारबाट नेपालमा पुगेको कुल सहयोगको वास्तविक तथ्यांक स्पष्ट हुन सकेको छैन। नयाँ पहलबाट प्रवासी नेपाली समुदायको योगदानलाई व्यवस्थित र पारदर्शी रूपमा अभिलेख गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

धेरै पढिएको