काठमाडौं । एमाले केन्द्रीय सचिवालयको बैठक पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा सुरु भएको छ। सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको छ । जारी केन्द्रीय कमिटीको बैठक चलिरहेकै अवस्थामा बोलाइएको यो बैठकमा अध्यक्ष ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा सदस्यहरूले राखेका सुझावलाई एकीकृत गर्ने र सांगठनिक विषयमा निर्णय लिने तयारी गरिएको छ ।
पार्टीको केन्द्रीय कमिटी बैठकमा सहभागी सदस्यहरूबाट प्राप्त रचनात्मक सुझावलाई अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमा समेटेर त्यसलाई अन्तिम रूप दिने कार्यलाई बैठकले प्राथमिकतामा राखेको छ ।
राजनीतिक प्रतिवेदनमाथिको छलफलसँगै पार्टीको सांगठनिक सुदृढीकरणका लागि महत्वपूर्ण मानिने स्थायी कमिटी र पोलिटब्युरो गठनको विषयमा पनि बैठकमा गहन छलफल हुने कार्यसूची छ ।
पार्टीका उच्च नेताहरूका अनुसार यो सचिवालय बैठकले पार्टीका विभिन्न निकायलाई पूर्णता दिने र आगामी राजनीतिक कार्यदिशालाई थप स्पष्ट बनाउने अपेक्षा गरिएको छ ।
केन्द्रीय कमिटीको बैठक जारी रहँदा सचिवालयको यो बैठकलाई निकै महत्वका साथ हेरिएको छ । एमालेमा नेतृत्व परिवर्तन हुने कि नहुने भन्ने चासो पनि यही बैठकले टुंगो लगाउने भएको छ ।