१ आश्विन २०८२, बुधबार
Follow Us

महानिर्देशक पाण्डेको अष्ट्रेलिया भाग्ने योजना

nepalbritain news
३० कार्तिक २०७४, बिहीबार ०३:१२

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेलाई पक्राउ गरेको छ। आयोगको टोलीले म्यानपावर कम्पनीसँग घूस लिएको अभियोगमा पाण्डेलाई पक्राउ गरेको हो।

घूस लेनदेनमा संलग्न रहेको अवस्थामा मंगलबार साँझ पक्राउ परेका विभागका कर्मचारीको बयानका आधारमा अख्तियारले महानिर्देशक पाण्डेलाई पक्राउ गरेको हो। वैदेशिक रोजगार विभागमा भ्रष्टाचार हुने गरेको समाचार विभिन्न समयमा बाहिर आउने गरे पनि कार्यालयकै सहसचिव तहको कर्मचारी घूस प्रकरणमा पक्राउ परेको यो पहिलो घटना हो। ३ वर्षको अवधिमा वैदेशिक रोजगार विभागमा अख्तियारले गरेको यो पाँचौं अपरेसन हो।

यसअघि पनि विभागका एक अधिकृत १० लाख घूससहित समातिएका थिए। ८ महिनाअघि पनि विभागका शाखा अधिकृत रमेश लामिछाने म्यानपावर व्यवसायीबाटै १० लाख रुपियाँ घूस लिँदा लिँदै पक्राउ परेका थिए। मंगलबार राति नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्यान्डबाट विभागका अधिकृत कीर्तिबल्लभ पौडेल र नायव सुब्बा खड्गबहादुर केसीलाई अख्तियारको टोलीले १० लाख घूससहित पक्राउ गरेको थियो। मंगलबार साँझ पक्राउ परेका उनीहरूको बयानको आधारमा महानिर्देशक पाण्डेले घुस लेनदेनमा परिचालन गरेको बताएका थिए।

वैदेशिक रोजगार न्यायाधीकरणमा विचाराधीन मुद्दा मिलाइदिने भन्दै पौडल र केसीले घूस लिएका थिए। बयानको क्रममा महानिर्देशक पाण्डेले उनीहरूलाई परिचालन गरेको खुलेपछि पक्राउ गरिएको अख्तियारले जानकारी दिएको छ।

नयाँ वानेश्वरबाट पक्राउ परेका पौडेल र केसीको बयानमा घुस रकमको लहरो महानिर्देशकसम्म पुगेको खुलेको हो। उनीहरूको बयानअनुसार अख्तियारले पाण्डेलाई आफ्नै निवासबाट पक्राउ गरेको थियो। पाण्डे मंसिर ६ गते अवकाश लिने तयारीमा रहेका थिए।
पाण्डेले कालोसूचीमा रहेको कम्पनीको कारोबार फुकुवा गर्न एसआरएस म्यानपावरका सञ्चालकसँग घुस लिएको अख्तियार स्रोतले जनाएको छ। इन्द्रेणी फुडल्यान्डबाट पक्राउ परेका पौडेलले टिप्पणी उठाएको एसआरएस म्यानपावरको फाइल पाण्डेले नै स्वीकृत गरेका थिए। एसआरएस म्यानपावर ठगीको आरोपमा कालोसूचीमा छ।

घटनाका बारेमा अख्तियारले केही समयअगाडि सर्वोच्च अदालतले एसआरएस मेनपावरको कारोबार फुकुवा गर्न भनेकोमा विभाग सम्वद्ध कर्मचारीले त्यसमा आनाकानी गरी अनियमितताको प्रयास गरेको भेटिएको जानकारी दिएको छ। अख्तियारका सहायक प्रवक्ता खगेन्द्रप्रसाद रिजालका अनुसार सोही प्रकरणमा १० लाख रुपियाँ घुससहित विभागका दुई कर्मचारी मंगलबार पक्राउ परेका थिए। नेपाल समाचारपत्रसँग कुरा गर्दै रिजालले भन्नुभयो, ‘सोही काराबाहीलाई निरन्तरता दिने क्रममा बुधबार पाण्डेलाई पनि संलग्न रहेको प्रमाण फेला पारेका हौं।’

पाण्डे हाल अख्तियारको हिरासतमा छन्। उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ। महानिर्देशक पाण्डेले मेनपावर सञ्चालकसँग पैसा बार्गेनिङ गरेको फोन टेप पनि अख्तियारले फेला पारेको छ। ‘महानिर्देशक पाण्डेले मेनपावर सञ्चालकसँगको बार्गेनिङ गरेको त्यो टेपसिहतका प्रमाणमा अनुसन्धान भइरहेको छ।’ –रिजालले भन्नुभयो।

भाग्ने तयारीमा पाण्डे
अवकास लगत्तै पाण्डे देश छोड्ने तयारीमा रहेको सूचना अख्तियारले पाएको थियो। पाण्डेका छोरीहरू अस्ट्रेलियामै रहेको र अवकास लगत्तै उनी अस्ट्रेलिया जाने तयारी गरेको अख्तियारका एक अधिकारीले बताए। अस्ट्रेलिया जानकै लागि पाण्डेले कपनमा रहेको आफ्नो घर बेचेर चाबहिलस्थित अम्बे अपार्टमेन्टमा बस्दै आएका थिए। तर, अवकाश लिएर अस्ट्रेलिया जाने योजनामा रहेका पाण्डे घुस प्रकरणमा समातिने डरले बिरामी छु भन्दै बुधबार कार्यालय नै गएका थिएनन्।

कसरी समातिए पाण्डे ?
राजधानीको एसआरएस म्यानपावर कम्पनीले केही समयअघि १ सय ५० जना कामदारलाई सेक्युरिटी गार्डको काम लगाइदिन्छु भन्दै दुबई पठाएको थियो। शुरुमा म्यानपावरले भनेको जस्तो काम नपाएको भन्दै ५० जना कामदार नेपाल फर्किए र उनीहरूले क्षतिपुर्तिसमेत माग गर्दै विभागमा उजुरी दिए।

प्रतिव्यक्ति ८ लाख रुपियाँ बुझाएर गएका उनीहरूले अलपत्र परेपछि नेपाल फर्किएर उक्त कमपनीविरुद्ध वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए। पीडितको उजुरीका आधारमा विभागले सो कम्पनीको कारोबार रोक्का गरेको थियो। पीडितको दबाब थेग्न नसकेपछि विभागले उक्त म्यानपावरको कारोबार रोकेको थियो।

पटक–पटक ठगीको उजुरी परेको भन्दै विभागले एसआरएसलाई कालोसूचीमा राखेर कामदार विदेश पठाउन नपाउने गरी कारोबार रोक्का गरेको थियो।

म्यानपावरले त्यसपछि आफूले ठगी गरेर विभागमा उजुरी परेका सबै कामदारलाई क्षतिपूर्ति दियो। तरपनि विभागले उसको कारोबार खोल्न मानेन। कारोबार रोक्का भएपछि सो म्यानपावर कम्पनीकी सञ्चालक सुभद्रा बराल लामो समय अबुधाबी बसेर उतैबाट रोक्का फुकुवाका लागि कानुनी प्रक्रिया अगाडि बढाएकी थिइन्। सर्वोच्च अदालतले पनि म्यानपावरलाई कालोसूचीबाट हटाउनू भन्दै जेठ २ गते परमादेश जारी गरेको थियो।

– नेपाल समाचार पत्रबाट

धेरै पढिएको