तनहुँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तानाशाही प्रवृत्तिले लोकतन्त्र माथि खतरा कायमै रहेको बताउनुभएको छ । नेपाली काँग्रेस प्रचारप्रसार समितिद्वारा आज दमौलीमा आयोजित चुनावी सभामा उहाँले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आए पनि केही तानाशाही प्रवृत्तिले लोकतन्त्र नै खतरामा रहेको बताउनुभएको हो ।
“गाउँबाट विचलित भएका मनलाई गाउँमै बसौँ बसाँै बनाउने आफ्नो योजनाअनुरुप आधा काम पूरा भइसकेको र बाँकी काम पूरा गर्न मैले उम्मेदवारी दिएको हुँ”– उहाँले भन्नुभयो ।
जिल्लाको सबै गाउँगाउँमा बिजुली, मोटबाटो पुगिसकेको बताउँदै नेता पौडेलले गाउँमै आम्दानी र रोजगारी पु-याउन आफू लागिपरेको उद्घोष गर्नुभयो ।
काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले देशभरि काँग्रेसको लहर आएकाले जित सुनिश्चित रहेको बताउनुभयो ।
पूर्वअर्थमन्त्री डा रामशरण महतले लोकतान्त्रिक पद्धति र आर्थिक समृद्धि गर्ने नेतृत्वको काँग्रेस हो भन्नुभयो । उद्योगपति एवं नेकाँ समानुपातिक उम्मेदवार विनोद चौधरीले विदेशमा रहेका ४० लाख नेपालीलाई स्वदेशमै रोजगारीको सिर्जना गर्न लोकतान्त्रिक सरकार आवश्यक रहेकाले काँग्रेसलाई विजयी गराउनुपर्नेमा जोड दिनुभयो ।
तनहुँ क्षेत्र नं २ को (क) का प्रदेशसभा उम्मेदवार प्रदीप पौडेलले अस्थिर राजनीति समाल्न र नेतृत्व लिन सक्षम नेतृत्व रामचन्द्र पौडेल रहेकाले तनहुँ जिल्लाको मात्रै नभई देशकै नेतृत्व गर्ने अवसरबाट चुकाउन नहुनेमा जोड दिनुभयो । प्रचारप्रसार समिति तनहुँका संयोजक अमरराज कैनीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा क्षेत्र नं २ को (ख) प्रदेशसभाका उम्मेदवार धु्रव वाग्ले क्षेत्र नं २ को प्रतिनिधिसभाका उम्मेदवार शंकर भण्डारी लगायतले आ–आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।