माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हतारमा पार्टी एकता नहुने बताउनु भएको छ । बाहिर चर्चा चले जस्तो ७०–३० को भागवण्डाका आधारमा नभई बराबरी हैसियतमा पार्टी एकता हुने बताउनु भएको ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले भारत भ्रमणमा जानुअघि नै पार्टी एकता गर्ने प्रस्ताव राखेका बेला आएको प्रचण्डको अभिव्यक्तिलाई अर्थपूर्ण मानिएको छ ।
पार्टीसम्वद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अगुवा कार्यकर्ता प्रशिक्षणको सम्मापन गर्दै प्रचण्डले पार्टी एकता गर्दा संगठनमा बराबरी भागवण्डा हुनुपर्ने बताउनु भयो ।
स्थानीय चुनावलाई आधार बनाएर संघ र प्रदेशको चुनावमा ६०–४० को भागवण्डा भएको भन्दै उहाँले, ‘बाहिर भनिए जस्तो एमालेबाट २०० र माओवादीबाट ९९ जना लिएर केन्द्रीय कमिटी बनाउने होइन । बराबरी बाहेक पार्टी एकता हुँदैन’–भन्नु भएको छ ।
एमाले नेताहरुले भने चुनावी परीणाम अनुसार ७०–३० को मोडल हुन सक्ने बताउनु भएको छ । माओवादी अध्यक्ष प्रचण्डले भने चुनावका लागि बनाएको विधि पार्टी एकतामा लागू नहुने बताउनु भएको छ । विगतका पार्टी एकताहरुमा पनि बराबरी हैसियत दिएको सुनाउँदै उहाँले झण्डै ५०–५० प्रतिशतकै हैसियतमा एकता हुने तर्क गर्नु भयो ।