२३ आश्विन २०८३, शुक्रबार
Follow Us

घुस लिएको अभियोगमा सव इञ्जिनीयर पक्राउ

nepalbritain news
२५ जेष्ठ २०७६, शनिबार ०२:४१

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले माडी–लुङ्ग्र्री–करिडोर सिँचाइ आयोजना, रोल्पामा कार्यरत सव इञ्जिनीयर तारा श्रेष्ठलाई एक लाख घुससहित पक्राउ गरेको छ।

योजनाको अन्तिम बिल भुक्तानी गर्दा सव इञ्जिनीयर श्रेष्ठले घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो। आयोगका सहसचिव कालीप्रसाद पोखरेलेका अनुसार आरोपी श्रेष्ठको थप अनुसन्धान भइरहेको छ।

आयोगले सशस्त्र प्रहरी बल, नेपाल, ११ नं गण, हजमिनिया, रौतहटमा कार्यरत सशस्त्र प्रहरी जवान अरूण झालाई ३० हजार घुससहित पक्राउ गरेको छ। नेपाल भारत सीमाबाट कस्मेटिक सामान ल्याउन सहज गराइदिने भन्दै जवान झाले सेवाग्राहीसँग घुस मागेको आयोगले जनाएको छ।

आरोपी सशस्त्र प्रहरी जवान झाको थप अनुसन्धान भइरहेको छ। त्यस्तै इलाका प्रहरी कार्यालय रन्यौरा, रूपन्देहीमा कार्यरत प्रहरी निरीक्षक केशवबहादुर बस्नेतलाई १५ हजार घुससहित पक्राउ गरेको छ।

नदीजन्य पदार्थ ढुवानी गरिरहेका सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले आज पक्राउ गरेको हो। यस्तै मालपोत कार्यालय चावहिल काठमाडौँका नायब सुब्बा चन्द्रबहादुर श्रेष्ठलाई दुई हजार घुससहित आयोगले पक्राउ गरेको छ।

एक विवादित जग्गाको मिसिलको प्रमाणित प्रतिलिपी दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा पुगेको आयोगको टोलीले नायब सुब्बा श्रेष्ठलाई कार्यालय परिसरबाट बिहीबार पक्राउ गरिएको हो।
रासस

धेरै पढिएको