काठमाडौं । नोबल कोरोना भाइरसले प्रभावित बनाएको बुहान सहरमा रहेका ३५ नेपाली विद्यार्थीले घर फर्किने निवेदन दिएका छन् । चीनमा रहेका नेपाली विद्यार्थीलाई घर फर्काउन बेइजिङस्थित नेपाली दूतावासले घर फर्कनका लागि निवेदन आह्वान गरेको थियो ।
सरकारको निर्देशनमा दूतावासले शनिबार बिहान सूचना प्रकाशित गर्दै चीनको हुबेई प्रान्तअन्तर्गतका विद्यार्थी घर फर्काउन आइतबार फेब्रुअरी २ तारिखको बिहानभित्र तोकिएको आवेदन भर्नुपर्ने प्रबन्ध तय गरेको थियो । फोन र विच्याटमार्फत विद्यार्थीबारेको सूचना आइरहे पनि घर फर्कन चाहेर फर्म भरेर पठाउने विद्यार्थीको संख्या भने ३५ मात्र रहेको दूतावासले जनाएको हो ।
हुबेई प्रान्तका वुहान, इनसी र सियानसहितका चार सहरमा १ सय ८८ नेपाली विद्यार्थी रहेको पछिल्लो जानकारी आएको र सबैजसो भाइरस संक्रमणबाट सुरक्षित रहेको जानकारी दूतावासले पाएको छ ।
चीनबाट फर्काइएका नेपालीलाई १५ दिन क्लोज क्याम्पमा राख्ने तयारी गरिएको छ । चीनमा भएका १ सय ७७ नेपालीलाई स्वदेश फर्काउने तयारीसँगै संक्रमण भए र नभएको यकिन गर्न उनीहरूलाई अरूको सम्पर्कमा आउन नदिने गरी क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको हो । राजधानी नजिकको सशस्त्र प्रहरीको ककनी र मातातीर्थ तालिम केन्द्र तथा सेनाको पाँचखालस्थित यूएन ट्रेनिङ सेन्टरलाई पनि ती विद्यार्थी राख्ने सम्भावित ठाउँका रूपमा हेरिएको छ ।