काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को भवन निर्माण भएको जग्गा खरिदमा आफ्नो कुनै संलग्नता नभएको एनआरएनए उपाध्यक्ष सोनाम लामाले स्पष्ट पारेका छन् । विभिन्न सञ्चारमाध्यममा आफ्ना नाम संलग्न भएको भन्दै उपाध्यक्ष लामाले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘बालुवाटारको ललिता निवास परिसरको संघको जग्गा सम्बन्धी प्रकरणमा मेरो नाम जोडेर विभिन्न सामाजिक सञ्जाल र अनलाइनहरुमा आएको खवरप्रति मेरो गम्भीर ध्यानर्कषण भएको छ । जग्गा खरिद गर्दा संघको कुनै कार्यकारी पदमा नभएको र तत्कालीन नेतृत्वले नै सबै निर्णय गरेको हो । म सधै नै संघको हितका लागि निस्वार्थ भावनाले काम गर्दै आएको छु ।’
लामाले जारी गरेको विज्ञप्तिमा भएको छ, ‘हाल पनि म संघको लागि कुनै प्रलोभन बिना निस्वार्थ हिसावले काम गर्दै आएको छु । कुनै आधार र प्रमाण विना कपोल कल्पित रुपमा आर्थिक चलखेल जस्तो गम्भीर आरोप लगाउनु मान्य हुन सक्दैन र यो साधारण पत्रकारिताको मर्म समेत विपरीत छ । यस सम्बन्धमा हुने जुनसुकै छानबीनलाई सघाउन म तयार छु । विना आधार आरोप लगाउने कार्यप्रति सजग रहन समेत सबैमा अनुरोध गर्दछु । मेरो नाम राखेर चरित्रहत्या गर्ने नियतले आरोप लगाउनेहरु प्रति कानूनी कारवाही अघि बढाउन सक्नेतर्फ सबैलाई सचेत गराउँदछु ।’