३१ भाद्र २०८२, मंगलवार
Follow Us

दक्षिण एसियालगाएत अन्य नियमित हवाई उडान सूचारु हुने

नेपालब्रिटेन संवाददाता
२३ कार्तिक २०७७, आईतवार १२:०८

काठमाडौ । कोरोना महामारीका कारण बन्द गरिएका दक्षिण एसिया लगाएत अन्य उपयुक्त गन्तव्य स्थानहरुमा नियमित हवाई उडान सूचारु हुने भएको छ । सिंहदरबारमा आइतबार बसेको कोरोना नियन्त्रण र रोकथामका लागि सरकारले गठन गरेको कोरोना संकट व्यवस्थापन केन्द्र निर्देशक समितिको बैठकले हाल खुला गरिएका नियमित उडानका अतिरिक्त दक्षिण एसिया लगाएत अन्य उपयुक्त गन्तव्य स्थानहरुमा नियमित हवाई उडान सूचारु गर्न पर्यटन मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा प्रस्ताव गर्ने निर्णय गरेको हो ।

कुटनीतिक नियोगबाट विदेशमा रहेका नेपालको उद्दारका काम सकिएको जानकारी आएकाले थप नेपालीको उद्दार गर्नुपर्ने भए नियमित उडानबाटै समायोजन गरेर उद्दार गर्ने तथा उद्दारका लागि अव थप उडान नगर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले बिदेशी कुटनीतिकका कर्मचारीहरु नेपाल आउनलाई अनुमति भएकामा परिवार समेत आउन पाउन पाउने गरि छुट दिन सरकारलाई सिफारिस गरेको छ । त्यस्तै विदेशमा रहेका नेपालीहरुको शव व्यवस्थापन गर्न बाकी रहेकाले शव नेपाल ल्याउनका लागि व्यवस्थापन गर्न श्रम मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले हाल अन्तराष्ट्रिय सतह मार्गका १३ स्थानबाट नेपाल प्रवेश गर्ने व्यवस्था मिलाइएकोमा बैतडीको झुलाघाटबाट पनि प्रवेश दिने निर्णय गरेको छ । त्यस्तै पर्यटन गतिविधिहरुलाई केहि खुल्ला गर्नका लागि केवलकार, जंगलसफारी लगाएतका क्षेत्रलाई खुल्ला गर्न दिने निर्णय पनि भएको छ ।

बैठकले स्थानीय तहमा होम आइशोलेशनमा बसेका नागरिकलाई स्वास्थ्य परामर्श दिनका लागि वडाबाट स्वास्थ्यकर्मीले स्वास्थ्य परामर्श गर्ने व्यवस्था मिलाउन संघीय मामिला मन्त्रालयलाई निर्देशन दिएको छ ।

धेरै पढिएको