१६ असार २०८३, मंगलवार
Follow Us

ठाकुर–महतो पक्ष तटस्थ बस्ने, भट्टराई–यादव पक्षले विपक्षमा मत दिने

नेपालब्रिटेन डट कम्
२७ बैशाख २०७८, सोमबार ०४:४९

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयलाई लिएर जनता समाजवादी पार्टी (जसपा) दुई कित्तामा उभिएको छ। जसपा बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षले प्रधानमन्त्री ओलीले सोमबार लिन लागेको विश्वासको मतको प्रस्तावको विपक्षमा भोट दिने भएको छ। तर महन्थ ठाकुर—राजेन्द्र महतो पक्ष भने विश्वासको मतको विषयमा तटस्थ बस्ने भएको छ। भट्टराई–यादव पक्षले आइतबार साँझ छुट्टै बैठक गरी विश्वासको मतको प्रस्तावको विपक्षमा भोट दिने निर्णय गरेको हो।

आफूहरूले प्रधानमन्त्री ओलीले संसद्मा विश्वासको मत लिन राख्ने प्रस्तावको विपक्षमा भोट दिने निर्णय गरेको जसपा अध्यक्ष यादवले बताए। भट्टराई–यादव पक्षको बैठक बस्नुअघि भट्टराई निवास टोखामा जसपाका ६ शीर्ष नेताको बैठक बसेको थियो। उक्त बैठकमा जसपाका सांसदलाई ओलीको विपक्षमा भोट दिने या तटस्थ बस्ने विषयमा ह्विप नलाग्ने निर्णय भएको यादवले बताए।

शीर्ष नेताहरूको बैठकपछि भट्टराई–यादव पक्षका नेताहरूको छुट्टै बैठक बसेको थियो। स्रोतका अनुसार शीर्ष नेताहरूको बैठकमा भट्टराई र यादवले प्रधानमन्त्री ओलीको विपक्षमा भोट दिनुपर्ने तथा ठाकुर र महतोले तटस्थ बस्नुपर्ने अडान राखेका थिए। फरकफरक धारणा आएपछि पार्टीका सांसदलाई ह्विप नलाग्ने निर्णय गरिएको नेताहरूले बताएका छन।

तर अध्यक्ष यादवले भने विपक्षमा भोट दिने या तटस्थ बस्ने भन्ने विषयमा मात्र ह्विप नलाग्ने निर्णय भएकाले पार्टीका सांसदहरूले पक्षमा भोट दिन नपाउने बताए। ‘ह्विप नलाग्ने भनेको विश्वासको मतको विपक्षमा भोट दिन या तटस्थ बस्ने विषयमा मात्र हो’, यादवले भने, ‘प्रधानमन्त्रीको पक्षमा भोट दिन जसपाका सांसदले पाउँदैनन्।’

प्रतिनिधिसभामा जसपाका ३४ सांसद छन्। जसमा पूर्वराष्ट्रिय जनता पार्टीका १६ र पूर्वसमाजवादीका १६ जना छन्। पूर्वराजपाका सांसद तथा अध्यक्ष मण्डलका सदस्य महेन्द्र यादव भट्टराई–यादव पक्षमा गएका छन्। भट्टराई–यादव पक्षका नेताहरूले आफ्नो कित्तामा १८ जना सांसद रहेको दाबी गर्दै आएका छन्।

धेरै पढिएको