काठमाडौं । नेकपा एकीकृत समाजवादीमा जिम्मेजारी बाँडफाँटको विषयमालाई लिएर असन्तुष्टि बढेको छ । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी विस्तारमा ‘मापदण्डविपरित पात्र छनोट गरिएको भन्दै अनेरास्ववियूले असन्तुष्टि जनाएको हो ।
केन्द्रिय सदस्यमा पार्टी अध्यक्ष माधव नेपालको भाई सरोजकुमार उपाध्यायलाई बनाइएपछि असन्तुष्ट बढेको छ । एमालेमा विधि पद्दति र मापदण्ड नमानेको भनेर विद्रोह गरेका नेताहरूले नै नेकपा एसमा व्यक्तिवादी प्रवृति देखाएको भन्दै अनेरास्ववियूले असन्तुष्टि जनाएको छ ।
पार्टीले सरोजलाई वैकल्पिक केन्द्रीय सदस्य बनाएको छ । यस्तै पार्टी अध्यक्ष नेपालको भाञ्जा नितेशलाई पनि केन्द्रीय परिषद् सदस्य बनाइएको हो ।
पार्टीका अन्य सबै जनवर्गीय संगठनका अध्यक्षहरु पार्टीको केन्द्रीय सदस्य मनोनित हुँदा अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली भने छुटेका छन् । ‘मापदण्ड एउटा, पात्र छनोट अनेक’ हुनु पार्टीका लागि राम्रो नहुने अनेरास्ववियूका अध्यक्ष पराजुलीको भनाई छ ।
‘गलत मानसिकताबाट व्यक्ति छनोटलाई रुचाउने परिपाटी सकारात्मक अभ्यास होइन । यसले पार्टी निर्माणमा गम्भीर संकट पैदा हुनसक्छ’ उनले भने ।
एकीकृत समाजवादीले संगठन विस्तारका लागि ३ महिने अभियान घोषणा गरेको छ । यस क्रममा एक वडा एक सय संगठित सदस्य र एक हजार पार्टी सदस्य बनाउने अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।