२७ बैशाख २०८१, बिहीबार
Follow Us

नेपाल परिवार दलको तेस्रो राष्ट्रिय महाधिवेशन मंसिर ४ र ५ गते

नेपालब्रिटेन संवाददाता
१ मंसिर २०७८, बुधबार १३:२७

काठमाडौं । नेपाल परिवार दलले मंसिर ४ र ५ गते तेस्रो राष्ट्रिय महाधिवेशन काठमाडौंमा गर्ने भएको छ । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठान कमलादीमा महाधिवेशन हुने परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले जानकारी दिए ।

महाधिवेशनबाट परिवार दलमा एक अध्यक्ष, दुई उपाध्यक्ष, दुई महामन्त्री, पाँच सहमहामन्त्री, एक कोषाध्यक्ष गरी जम्मा १०१ कार्यसमिति निर्वाचित हुने भएको छ । कोरोना महामारीलाई ध्यान दिँदै मापदण्ड पालन गरेर भौतिक र अनलाइन दुवै तरिकाबाट महाधिवेशन सम्पन्न गर्ने दलले जनाएको छ ।

अध्यक्ष ढकालले तेस्रो राष्ट्रिय महाधिवेशनको तयारी पुरा भएको जानकारी दिएका छन् । उनले ‘सबैखाले विभेदको अन्त्य गरौं : सुसंस्कृत, समृद्ध र समावेशी नेपाल निर्माण गरौं’ भन्ने नाराका साथ तेस्रो राष्ट्रिय महाधिवेशन गर्न लागेको बताएका छन् ।

ढकालले अहिले नेतृत्व गरिरहेका दलका नेताहरू पुरानै सोचबाट विचलित भएको बताएका छन् । सत्ता परिवर्तनले दललाई मात्र फाइदा हुने र जनतालाई फाइदा नहुने भन्दै उने आफ्नो दलले संस्कार नै परिवर्तन निर्माण गर्नुपर्छ भनेर अगाडि बढेको ढकालले बताए ।

ढकालले हिमाल, पहाड, तराई, धनी र गरिब सबैको प्रतिनिधित्व हुनेगरी सबैलाई समेट्न आफ्नो दलले खोजेको पनि सुनाए । उनले १२६ जनजाति र १२३ भासाभासीहरूलाई समेट्ने गरी परिवार दल अगाडी बढेको बताए । सबै राजनीतिक दलले सबै जनताहरूले अपनत्व महसुस गर्ने खालको विचार बोक्नुपर्नेमा उनको जोड थियो ।

संविधान निर्माणको कार्यमा पनि आफ्नो दल रातदिन खटेको उनले बताए । उनले संविधानमा लेखिएको अनुसार दलहरू नगएको समेत आरोप लगाए । उनले नेपाल एक प्रकृतिको मात्र देश नभएको भन्दै सबैलाई समेट्न आफ्नो दल लागेको बताए ।

महाधिवेशनमा सबै पार्टीका शीर्ष नेतालाई निम्तो दिएको उनले जानकारी दिएका छन् ।