२६ बैशाख २०८१, बुधबार
Follow Us

युक्रेनमा रुसले केही दिनमै आक्रमण गर्ने अमेरिकाको दाबी

नेपालब्रिटेन संवाददाता
७ फाल्गुन २०७८, शनिबार ०५:५५

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण गर्ने निर्णय गरेको र केही दिनमै आक्रमण हुनसक्नेमा आफू विश्वस्त रहेको बताएका छन्। उनले अमेरिकी गुप्तचर रिपोर्टहरुको मूल्यांकनका आधारमा आफू रुसले युक्रेनको राजधानी कियभलाई निशाना बनाउने निर्णयमा पुगेकोमा विश्वस्त रहेको बताए । तर रुसले आक्रमण गर्ने योजना अस्वीकार गर्दै आएको छ।

एक टेलिभिजन सम्बोधनमार्फत अमेरिकी राष्ट्रपति बाइडेनले रुसी सेनाले आगामी केही दिनमै युक्रेनमा आक्रमण गर्ने योजना बनाएको बताए । तर रुसले सीमामा तनाव घटाउन कूटनीतिक पहलमार्फत वार्ताको टेबलमा फर्कन भने धेरै ढिलो नभएको उनको भनाइ छ ।

रुसले युक्रेनको पूर्वी क्षेत्रहरूमा कृतिम संकट सिर्जना गरेर आक्रमण गर्ने योजना बनाएको अमेरिकालगायतका पश्चिमा मुलुकको आशंका छ। युक्रेनको सीमामा १ लाख ९० हजारसम्म रुसी सेना तैनाथ रहेको अमेरिकाको विश्वास छ।

जसमा पूर्वी युक्रेनको डोनेट्स्क र लुहान्स्कका रुसी समर्थित लडाकुहरू समावेश छन् । रुसले सन् २०१४ देखि युक्रेनको पूर्वी डोनबास क्षेत्रमा सशस्त्र विद्रोहलाई समर्थन गर्दै आएको छ। संघर्षका कारण १४ हजार मानिसको मृत्यु भएको छ।