१६ असार २०८१, शनिबार
Follow Us

जाजरकोटमा टाइफाइडविरुद्ध खोप दुई चरणमा

नेपालब्रिटेन संवाददाता
२६ चैत्र २०७८, शनिबार ०४:५३

जाजरकोट । जाजरकोटमा टाइफाइडविरुद्धको खोप दुई चरणमा लगाइने भएकाे छ । पहिलो चरणमा आज शनिबारदेखि ४ वैशाखसम्म भेरी नगरपालिका, नलगाड नगरपालिका र बारेकोट गाउँपालिकामा सञ्चालन हुने भएकाे छ ।

दोस्रो चरणमा आइतबारबाट ९ वैशाखसम्म नलगाड नगरपालिका, शिवालय गाउँपालिका, जुनीचाँदे गाउँपालिका र कुशे गाउँपालिका खोप अभियान चल्नेछ ।

शुक्रबार कुदुबाट टाइफाइडविरुद्धकाे खोप अभियानको शुभारम्भ गरिएको थियाे । भगवती माविमा आयोजित कार्यक्रममा जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका संयोजक मनबहादुर रावल र स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख नवराज कँडेलले खोप अभियानको शुभारम्भ गरेका थिए ।

सरकारले १५ महिनादेखि १५ वर्ष उमेर समूहका सबै बालबालिकालाई यो खोप अभियानमा समेट्ने लक्ष्य लिएको छ । जाजरकोटका सात पालिकाका उक्त उमेर समुहका ७६ हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने तयारी भएको कार्यालय प्रमुख कँडेलले बताए ।