१३ असार २०८१, बुधबार
Follow Us

‘आफ्नालाई न्यायाधीश नियुक्त गर्दा न्यायालय विकृत’

नेपालब्रिटेन संवाददाता
१२ असार २०७९, आईतवार ११:०९

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइराला (गोविन्द बन्दी) ले योग्यता नहेरी आफ्ना मान्छेलाई न्यायाधीश नियुक्त गर्दा न्यायालय विकृत भएको बताएका छन् । आइतबार राष्ट्रियसभाको बैठकमा सांसदहरूले अदालत पटक पटक विवादमा परेको र न्यायप्रति जनआस्थामा प्रतिकुल असर परेको भन्दै समाधानका लागि सरकारले के गर्दै छ भनेर प्रश्न गरेका थिए ।

जवाफ मन्त्री बन्दीले न्यायालयमा विकृति र विसङ्गति रहेको स्वीकार मात्र गरेनन्, विकृति विसङ्गतिको सुरुवात न्यायाधीश नियुक्तिबाटै सुरु हुने बताए । अदालतको विकृति, विसङ्गति र भ्रष्टाचारबारे अध्ययन गर्न गठित हरिकृष्ण कार्की नेतृत्वको समितिले पनि न्यायाधीश नियुक्तिमा भएको कमजोरीले न्यायालयभित्र विकृति र विसङ्गति बढाएको उल्लेख गरेको मन्त्री बन्दीले स्मरण गरे ।

सुधारका लागि सरकारले न्यायाधीश नियुक्ति निर्देशिका तयार गरिसकेको मन्त्री बन्दीले बताए । उक्त निर्देशिका यसै साता राजपत्रका प्रकाशित हुने र कार्यान्वयनमा आउने उनले बताए ।