१६ असार २०८१, शनिबार
Follow Us

बर्लिनमा उपाध्यक्ष गुरुङले गरे सदस्यता ग्रहण

नेपालब्रिटेन संवाददाता
१६ असार २०७९, बिहीबार १३:२८

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) डेमोक्रेटिक पार्टीहरूको अन्तर्राष्ट्रिय एलाइन्सको अग्रणी संस्था अन्तर्राष्ट्रिय डेमोक्रेटिक युनियन (आईडीयू)को पूर्ण सदस्य बनेको छ । विश्वभरिका विभिन्न ८४ देशका विभिन्न राजनीतिक दलले आईडीयूको पूर्ण सदस्यता प्राप्त गरेका छन् भने ६५ देशका विभिन्न राजनीतिक दलहरू आमन्त्रित छन् ।

यसअघि नेपालबाट आईडीयू फोरमको बैठकमा आमन्त्रितको रुपमा सहभागी हुँदै आइरहेको राप्रपाले करिब डेढ दशकपछि पूर्ण सदस्यता प्राप्त गरेको सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार जर्मनको बर्लिनमा २६ जुनदेखि चार दिनसम्म चलेको आईडीयूको फोरम बैठकमा राप्रपाले सदस्यता प्राप्त गरेको हो ।

राप्रपाको तर्फबाट फोरमको बैठकमा सहभागी पार्टीका उपाध्यक्ष एवं सचिवालय प्रमुख हेमजङ गुरुङले आईडीयू अध्यक्ष, क्यानडाका पूर्व प्रधानमन्त्री स्टेफेन हार्परबाट आईडीयूको पूर्ण सदस्यताको प्रमाणपत्र ग्रहण गरेका प्रवक्ता श्रेष्ठले जानकारी दिए ।