१८ बैशाख २०८१, मंगलवार
Follow Us

दाजुभाइको अंश विवादमा भाइ दोस्रो पटक आमरण अनसनमा

नेपालब्रिटेन संवाददाता
१८ कार्तिक २०७९, शुक्रबार ०५:२१

राजविराज । अंश मुद्दामा लामो समयदेखि न्याय नपाएको भन्दै एक दम्पत्ति उच्च अदालत जनकपुर राजविराज इजलास अगाडि दोस्रोपटक आमरण अनसनमा बसेको छ ।

राजविराज-४ का दिनेशप्रसाद साह र उनकी श्रीमती गौरी साह अदालतको मूल गेट अगाडि बिहीबार बिहान १० बजेदेखि दोस्रो पटक आमरण अनसनमा बसेका हुन् ।

सप्तरी जिल्ला अदालतबाट वादी दिनेशप्रसाद साहविरुद्ध उनका दाजु उमेशप्रसाद साह भएको २०६३ सालकोे अंश मुद्दामा २०६४ साल मंसिर २५ गते दुबै दाजु भाईलाई ४र४ धुर जग्गा हुने गरी फैसला भएको थियो । तर, फैसला अझै कार्यान्वयन हुन नसकेको दिनेशको भनाइ छ ।

जिल्ला अदालतले गरेको फैसलाविरुद्ध उनका दाजु उमेशले उच्च अदालत जनकपुर राजविराज इजलासमा रिट निवेदन दिएछि फैसला कार्यान्वयन प्रक्रिया लम्बिएको हो ।

यसअघि गत असोज ६ गते पहिलो पटक अनसनमा बसेका साह दम्पत्तीलाई उच्च अदालतका न्यायाधीशले आउँदो असोज २७ गते हुने पेशीमा न्याय पाउने विश्वास दिलाएपछि सोही दिन साँझ अनसन तोडिएको साह दम्पत्तिले जानकारी दिए ।

उच्च अदालत जनकपुर राजविराज इजलाशका उपरजिष्टार उज्जवल न्यौपानेले अदालतमा मुद्दाको चाप बढिरहेको र फौजदारी मुद्दालाई प्राथमिकतामा राखेर फैसला गर्नुपर्ने हुँदा साह दम्पतीका विषयमा प्रक्रिया अनुसार पालो आएपछि न्याय निरुपण हुने बताए ।