१५ चैत्र २०८०, बिहीबार
Follow Us

मेरिलेबोनविरुद्ध नेपाल विजयी

नेपालब्रिटेन डट कम्
५ श्रावण २०७३, बुधबार ०५:११

लन्डन । नेपाली राष्ट्रिय क्रिक्रेट टोलीले मैत्रीपूर्ण खेलमा इङ्ल्यान्डको मेरिलेबोन क्रिकेट क्लब (एमसिसी)लाई ४१ रनले हराएको छ । नेपालले दिएको २१८ रनको लक्ष्य पछ्याएको घरेलु टोली मेरिलेबोनले ४७.२ ओभरमै सबै विकेट गुमाएर १७६ रन मात्र बनाउन सक्यो । मेरिलेबोनलाई लक्ष्यमा पुग्नबाट रोक्ने क्रममा नेपालका वसन्त रेग्मी र सागर पुनले तीन-तीन, सोमपाल कामीले दुई तथा शक्ति गौचन र सन्दीप लामिछानेले एक÷एक विकेट लिएका थिए ।

1
यसअघि इङ्ल्यान्डको लन्डनस्थित लर्डस् क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २१७ रन बनाएको थियो ।
चौथो ओभरको सुरुवातीमै ओपनर अनिल मण्डललाई व्यक्तिगत दुई रनमा गुमाएको नेपालका लागि अर्का ओपनर ज्ञानेन्द्र मल्लले ३९ रन बनाउँदै पारी सम्हालेका थिए ।
त्यस्तै, कप्तान पारस खड्काले ३०, शरद भेषवाकरले २७, सागर पुनले २६, अविजित रहेका वसन्त रेग्मी र राजु रिजालले समान २४ तथा सोमपाल कामीले २० रन बनाएपछि नेपालको सम्मानजनक स्कोर खडा भएको थियो । त्यसैगरी विनोद भण्डारीले नौ रन बनाएका थिए भने शक्ति गौचन शून्य रनमा अविजित रहेका थिए ।
नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २०० वर्ष पूरा भएको उपलक्ष्यमा ‘क्रिकेटको घर’का रूपमा परिचित लर्डस्मा नेपाली टोलीले त्यहाँको घरेलु क्रिकेट क्लबसँग खेल्ने अवसर पाएको हो । लर्डस् विश्वकै सबभन्दा पुरानो क्रिकेट मैदान हो भने मेरिलेबोन पनि पुरानो क्रिकेट क्लब हो ।

2