लन्डन । लण्डनस्थित नेपाली दूतावासमा नेपाल ब्रिटेन संबन्ध कायम भएको दुई सय वर्ष पुरा भएको अवसरमा मंगलवार देखि एक सातासम्म विभिन्न कार्यक्रमहरु आयोजना गर्न लागिएको छ।
दूतावासका अनुसार आज उद्घाटनका अवसरमा साँस्कृतिक कार्यक्रम तथा फोटो प्रदर्शनी गरिनेछ। त्यस्तै बुधवार तारिखका दिन युरोपेली पर्यटकहरुलाई लक्षित गरिएको “भिजिट नेपाल युरोप २०१७” को घोषणाका साथै चित्रकला एवम् फोटो प्रदर्शनी गरिनेछ।
बिहीबार मार्च १६ तारिखका दिन आयोजना गरिने अन्तरकृया कार्यक्रमको अध्यक्षता ब्रिटेनकालागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुबेदीले र सन्चालन अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक डा. डेविड गेलनरले गर्नुहुनेछ। सो अन्तर्कृयामा प्रा. डा. सूर्य सुवेदी, डा. कृष्ण अधिकारी, डा. मारा मालागोडी तथा ब्रिटिश सेनाबाट सेवानिवृत्त लेफ्टिनेन्ट कर्नेल जेरी बर्चले कार्यपत्रहरु प्रस्तुत गर्नुहुनेछ। त्यस्तै स्टेफेन किङले ‘रिटर्न टु लाङटाङ’ नामक वृत्तचित्र प्रदर्शन गर्नेछन्। उक्त अन्तरकृया नेपाल पत्रकार महासंघ युके शाखा तथा ब्रिटेन नेपाल एकेडेमिक काउन्सिलसँगको सहकार्यमा गर्न लागिएको पनि दूतावासले जनाएको छ।
त्यस्तै मार्च १७ मा साहित्य महोत्सव तथा पुस्तक प्रदर्शनी, मार्च १९ मा व्यापारिक प्रदर्शनी तथा नेपालमा व्यापार तथा लगानीका अवसरहरुबारे अन्तरकृया कार्यक्रम आयोजना गर्न लागिएको छ। मार्च २० तारिखमा सप्ताहव्यापी कार्यक्रमहरुको समापन हुनेछन्।
शनिबार मार्च १८ तारिख भने दूतावास परिसरमै दिउँसो १२ बजेदेखि ५ बजेसम्म खाना तथा सँगीत महोत्सव आयोजना गरिने र सो कार्यक्रम बेलायतस्थित सबै नेपालीहरु तथा नेपालका मित्रहरुकालागि खुल्ला रहेको पनि दूतावासले जनाएको छ।
सप्ताहव्यापी कार्यक्रमहरुमा नेपाल तथा बेलायतका वरिष्ठ अधिकारीहरु सहभागी हुने अपेक्षा गरिएको पनि दूतावासले जनाएको छ। ती कार्यक्रमहरु सफल पार्न सहयोग पुराउन दूतावासले बेलायतस्थित सबै संघसंस्था तथा नेपाली समुदायलाई आग्रह पनि गरेको छ।







