१६ बैशाख २०८१, आईतवार
Follow Us

भारतसँग नेपाल २३ रनले पराजित

नेपालब्रिटेन संवाददाता
१६ आश्विन २०८०, मंगलवार ०६:१८

काठमाडौं । १९ औं एसियाली खेलकुदअन्तर्गत क्रिकेटको क्वाटरफाइनलमा भारतसँग नेपाल २३ रनले पराजित भएको छ । २०३ रनको लक्ष्य पाएको नेपालले खेल सकिँदा ९ विकेट विकेट गुमाएर १७९ रनमात्र बनाउन सक्यो । यो पराजयसँगै क्रिकेटमा स्वर्ण पदक जित्ने नेपालको सपना अन्त्य भएको छ ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरले १५ बलको सामना गरेर सर्वाधिक ३२ रन बनाए । कुशल मल्ल र सन्दीप जोराले २९–२९ रनको योगदान दिएका थिए । ओपर कुशल भूर्तेलले २८ रन बनाए । कप्तान रोहित पौडेल मात्र ३ रनमा पबेलिन फर्किए । गुल्सन झा, सोमपाल कामी र विकेट किपर आसिफ शेख क्रिजमा जम्न नसक्दा नेपालले हात व्यहोर्नु परेको हो ।

चीनको झेजिङ युनिभर्सिटीको मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०२ रन बनायो ।

नेपालविरुद्ध आक्रामक ब्याटिङ गरेको भारतका ओपनर यशस्वी जैसवालले शतक पूरा गरे । उनले ४९ बलमा ८ चौका र ७ छक्का प्रहार गर्दै एक सय रन बनाए । यस्तै कप्तान ऋतुराज गायकवाडले २५ रनको योगदान गरे । उनले २३ बलको सामना गर्दा ४ चौका प्रहार गरे ।

तिकल बर्मा २ रनमा आउट भए भने जितेश शर्मा ५ रन बनाएर पभेलियन फर्किए । शिवम दुबे २५ र रिंकु सिंह ३७ रन बनाएर नटआउट रहे ।
नेपालका दीपेन्द्र सिंह ऐरीले २ विकेट लिए । यस्तै सन्दीप लामिछाने र सोमपाल कामीले एक–एक विकेट लिए ।