१२ श्रावण २०८१, शनिबार
Follow Us

रष्ट्रिय सभा अध्यक्षको निर्वाचन फागुन २९ मा गर्ने सम्भावित कार्यसूची

नेपालब्रिटेन संवाददाता
२१ माघ २०८०, आईतवार ०६:१३

काठमाडौं । रष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचन आगामी फागुन २९ गते गर्नेगरी सम्भावित कार्यसूची तय गरिएको छ । अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित राष्ट्रिय सभाका २० जना सदस्यको पदावधि आगामी फागुन २० गते सकिँदैछ ।

राष्ट्रिय सभाको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकले माघ र फागुनका लागि तयार गरेको सम्भावित कार्यसूचीबमोजिम अध्यक्षको निर्वाचन आगामी फागुन २९ गते गर्ने तय गरेको छ ।

सङ्घीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले पदावधि सकिएलगत्तै निर्वाचन गर्ने तयारी गरिएको जानकारी दिए । माघ १० गते भएको निर्वाचनबाट राष्ट्रिय सभामा रिक्त हुन लागेका २० मध्ये १९ सदस्य निर्वाचित भइसकेका छन् ।

अब दलको हैसियतबमोजिम कार्यव्यवस्था तथा परामर्श समितिमा सदस्य पनि थपघट हुने छन् । एकतिहाइ सदस्य निर्वाचित भएर आएपछि नेकपा (माओवादी केन्द्र) सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको सबैभन्दा ठूलो दल बनेको छ ।

हाल तेस्रो स्थानमा रहेको कांग्रेसले दोस्रो ठूलो दलको हैसियत पाएको छ । सबैभन्दा बढी सदस्य रहेको नेकपा (एमाले) भने १० सदस्यसहित तेस्रो स्थानमा खुम्चिएको छ । सचिवालयले प्रकाशित गरेको कार्यसूचीबमोजिम फागुन २७ गते रष्ट्रिय सभा अध्यक्षको निर्वाचनको दिन र समय निर्धारण गरिने छ । सङ्घीय संसद्को हिउँदे अधिवेशन भोलि २२ गतेदेखि सुरु हुँदैछ ।