लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) को उपाध्यक्ष पदका लागि रोजिना प्रधान राईले उम्मेदवारी घोषणा गरेकी छन्।
एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय परिषद्को ११औँ महाधिवेशनमा महिला उपाध्यक्षमा निर्वाचित भएकी राईले आगामी महाधिवेशनमा खुला उपाध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने तयारी गरेकी हुन्।
गैरआवासीय नेपाली संघको बृहत् एकता महाधिवेशन आगामी मार्च १४ देखि १६ सम्म काठमाडौँमा हुँदैछ। संघको एकता कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेपछि राई चर्चामा आएकी हुन्।
को हुन् रोजिना?
रोजीहिरा फाउण्डेशनकी अध्यक्षसमेत रहेकी राईले आफ्नो फाउण्डेशनमार्फत विभिन्न परोपकारी कार्य गर्दै आएकी छन्। विशेषगरी सन् २०१५ को महाभूकम्प, कोभिड–१९ महामारी, बाढी तथा पहिरोपीडित र अन्य आपतविपतका बेला उनले पटक–पटक आर्थिक तथा मानवीय सहयोग प्रदान गरेकी थिइन्।
बेलायतमा आयोजित विभिन्न सौन्दर्य तथा प्रतिभा प्रस्फुटन कार्यक्रमहरूमा निर्णायकको भूमिका निर्वाह गरेकी उनले नव नारी, टुडेज वुमन, खोटाङ सेवा समाज बेलायत, रावाखोला सेरोफेरो यूके, किरात राई यायोख्या बेलायत तथा गुन्यूचोली तथा सांस्कृतिक पोशाक राष्ट्रिय सचेतना अभियान नेपाललगायत विभिन्न संस्थाबाट सम्मान प्राप्त गरेकी छन्।
एङ्लिया रस्किन युनिभर्सिटीबाट व्यवसाय प्रशासन (बिजनेस एडमिनिस्ट्रेशन) मा स्नातकोत्तर गरेकी राई वर्ल्ड नेवा अर्गनाइजेसन, खोटाङ सेवा समाज यूके र एनआरएनए यूकेलगायत संस्थामा सल्लाहकारको जिम्मेवारीसमेत सम्हालिरहेकी छन्।
नेपालमा हाइड्रोपावर, हिमालय जाभा, कफी खेती र होटल क्षेत्रमा लगानी गरेकी प्रधान सफल महिला उद्यमीसमेत हुन्।
उनले विदेशमा आर्जन गरेको ज्ञान, सीप र प्रविधि नेपाल भित्र्याउने, साना तथा ठूला लगानी प्रवर्द्धन गर्ने तथा एनआरएनए सीप बैंकलगायतका कार्यक्रमलाई प्राथमिकता दिने बताएकी छन्।
संघको महाधिवेशन मार्च १४ देखि १६ सम्म काठमाडौँमा हुँदैछ। उक्त महाधिवेशनले नयाँ कार्यसमितिको निर्वाचन गर्ने निर्वाचन समितिले जनाएको छ।