१४ असार २०८१, बिहीबार
Follow Us

एनआरएनए मुख्यालय लगायत ललिता निवास क्षेत्रमा रहेका स्थाई संरचना हटाउन महानगरपालिकाको ७ दिने सूचना

नेपालब्रिटेन डट कम्
९ फाल्गुन २०८०, बुधबार ०३:४४

काठमाडौँ । काठमाडौं महानगरपालिकाले ललिता निवास क्षेत्रको सरकारी जग्गा खाली गर्न सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।

बुधबार एक सूचना जारी गर्दै महानगरपालिकाले काठमाडौं महानगरपालिका वडा नं. ४ मा रहेको ललिता निवास क्षेत्रको सरकारी जग्गाबाट आफैं हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरूलाई अनुरोध गरेको हो । सरकारी जग्गामा रहेका संरचनाहरू हटाउन महानगरले ७ दिनको अवधिसमेत तोकेको छ ।

‘विशेष अदालत, काठमाडौंबाट वादी नेपाल सरकार र प्रतिवादी कलाधर देउजा समेत १७५ जना भएको “सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरी भ्रष्टाचार गरेको” मुद्दामा २०८० फागुन ३ गते भएको फैसलाबाट काठमाडौं महानगरपालिका वडा नं.४ बालुवाटारस्थित ललिता निवास क्षेत्रको जग्गा जफत (सरकारी) भएको छ,’ सूचनामा भनिएको छ, ‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद – १३ स्थानीय तहको सम्पत्तिको संरक्षण सम्बन्धी व्यवस्थाअन्तर्गत दफा ९७ (१) ले काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेका सरकारी, सामुदायिक तथा सार्वजनिक सम्पत्तिको रेखदेख, मर्मत संभार तथा अन्य प्रबन्ध गर्नुपर्ने कानुनी दायित्व महानगरपालिकालाई तोकेको छ । विशेष अदालत, काठमाडौंको उक्त फैसलाबाट जफत (सरकारी) भएको काठमाडौँ महानगरपालिका वडा नं.४ बालुवाटारस्थित ललिता निवास क्षेत्रको सरकारी सम्पत्तिको संरक्षण, रेखदेख तथा उचित प्रबन्ध गर्न यो सूचना प्रकाशित गरिएको छ ।’

सार्वजनिक स्थानमा छोड्ने सम्बन्धमा सूचनामा भनिएको छ, ‘यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र उक्त ललिता निवास क्षेत्रमा रहेका व्यक्ति, कम्पनी तथा संघ संस्थाहरु सो क्षेत्रबाट हटी सरकारी सम्पत्तिको संरक्षण तथा उचित प्रबन्ध गर्ने कार्यमा महानगरपालिकालाई सहयोग गर्नुहुन अनुरोध गरिन्छ ।’

सूचनाले तोकेको समयभित्र सो क्षेत्रबाट नहटेमा प्रचलित कानुन बमोजिम हटाई सरकारी जग्गा तथा सम्पत्तिको संरक्षण, रेखदेख तथा उचित प्रबन्ध गरिनेसमेत महानगरले जनाएको छ ।