२६ बैशाख २०८१, बुधबार
Follow Us

रिक्त राष्ट्रिय सभाको अध्यक्ष पदमा आज निर्वाचन हुँदै

नेपालब्रिटेन संवाददाता
२९ फाल्गुन २०८०, मंगलवार ०६:००

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचन आज हुँदैछ । अध्यक्ष पदमा मतदानका लागि आज राष्ट्रिय सभाको बैठक बस्ने छ । अध्यक्षको प्रस्तावको निर्णय सदस्यको दस्तखतसहितको मत विभाजनद्वारा हुने कानुनी व्यवस्था छ ।

राष्ट्रिय सभा नियमावली अनुसार एउटा मात्रै प्रस्ताव दर्ता भएमा समर्थक सदस्यले बोलिसकेपछि अध्यक्षता गर्ने व्यक्तिले प्रस्तावित सदस्य अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएको घोषणा गर्ने व्यवस्था छ ।

तर दुई वटा प्रस्ताव दर्ता भएकाले दर्ता क्रमानुसार प्रस्तावक सदस्यले प्रस्ताव प्रस्तुत गर्ने र समर्थक सदस्यले समर्थन गर्ने छन् । राष्ट्रिय सभा अध्यक्ष पदका लागि सत्ता गठबन्धन र प्रतिपक्षबाट एक एक जनाले उम्मेदवारी दिएका छन् ।

सत्ता पक्षबाट राष्ट्रिय सभा सदस्य नारायणप्रसाद दाहालले उम्मेदवारी दिएका छन् । यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट राष्ट्रिय सभा सदस्य युवराज शर्माको उम्मेदवारीको प्रस्ताव दर्ता भएको छ ।

यस अर्थमा सत्तापक्ष र प्रतिपक्षमा रहेका दुई पार्टीका सांसदबीच राष्ट्रिय सभा अध्यक्षमा आज प्रतिस्पर्धा हुँदैछ । कांग्रेसबाट उम्मेदवारी दिएका ७३ वर्षीय शर्मा २०४५ देखि २०४९ सालसम्म नेपाली कांग्रेस, बाँकेको सभापति थिए ।