काठमाडौँ- नेपालमा विद्युतिकरण ९९ प्रतिशत पुगेको नेपाल विद्युत प्रधिकरणले जनाएको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दोश्रो कार्यकालको तीन बर्षको उपलब्धि सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक घिसिङले छिट्टै देश पूर्णरुपमा विद्युतीकरण भएको घोषणा गर्ने अवस्थामा पुगेको वताउनु भयो ।
तीन वर्षअघि ८९ दशमलव ७ प्रतिशत रहेको विद्युतीकरण हाल ९९ प्रतिशत पुगेको प्राधिकरणले जनाएको छ । त्यस्तै आठ वर्षअघि २९ लाख ७० हजार रहेका विद्युतको ग्राहक सङ्ख्या हाल सामुदायिकसहित ५९ लाख ३५ हजार पुगेको छ । बिकट बस्तीहरुको पहिचान गरेर बाँकी विद्युतीकरणको काम अगाडि बढिसकेको जनाउदै प्राधिकरणले छिट्टै देश पूर्ण विद्युतिकरण भएको घोषणा गर्ने अवस्थामा पुग्ने वताएको हो । विद्युतीकरणका लागि प्राधिकरणको आफनै स्रोतबाट ठूलो लगानी गरेको जनाउदै सुकुम्बासी बस्ती तथा चेपाङ, मुसहरलगायतका विपन्न वर्गका घरपरिवारमा विद्युत पुर्याउन निःशुल्क मिटरसमेत वितरण गरेको प्राधिकरणले जनाएको छ ।
गाउँ बस्तिको विद्युतीकरण मात्र हैन स्थानीय निकायहरुसँगको साझेदारीमा स्मार्ट सडक बत्ती विस्तार गरी सहर उज्यालो बनाउने कार्यमासमेत ठूलो लगानी गरेको पत्रकार सम्मेलनमा जानकारी गराएको हो। त्यसोत विद्युत प्राधिकरणले विद्युत खपत पनि निकै बढेको तथ्याङक सार्वजनिक गरेको छ ।
प्राधिकरणले विगत आठ वर्ष अघि प्रतिवर्ष ३ अर्ब ७२ करोड युनिट विद्युत खपत हुने गरेकामा अहिले १० अर्ब २३ करोड युनिट पुगेको तथ्याङक सार्वजनिक गरेको छ । प्रतिव्यक्ति ऊर्जा खपत १ सय ३१ युनिटबाट बढेर ४ सय युनिट पुगेको जनाएको छ । घर–घर र वस्तिवस्तिमा बत्ति बाल्न मात्र होइन, उद्योग, व्यवसाय र कलकारखानामा विद्युत् पुर्याएर आन्तरिक खपत बढाई देशलाई नै समृद्ध बनाउने अभियानमा पनि सफलता प्राप्त भएको ठहर पनि प्राधिकरणको छ । तीनवर्षको अवधिमा प्राविधिक र गैरप्राविधिक विद्युत चुहावट घटाउन, अधिकतम ग्राहकसम्म पहुँच बढाउन, वित्तीय खर्च घटाउन, राजस्व बढाउन, प्रसारण तथा वितरण लाइन र सबस्टेसन विस्तार गर्न संस्थागत सुशासनमा सुधार गर्दै नाफा कमाउनमा प्राधिकरणलाई ठूलो सफलता हात परेको कार्कारी निर्देशक घसिङले वताउनुभयो ।
आर्थिक वर्ष २०७२/७३ मा एकै वर्ष ८ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्सानीमा रहेको प्राधिकरण आर्थिक वर्ष ०७३/७४ मा १ अर्ब ५० करोड रुपैयाँ खुद नाफा गर्न सफल भएको उल्लेख गर्दै गत आर्थिक वर्षमा १३ अर्ब ३१ करोड रुपैयाँ पुर्याउन सफल भएको जनाएको छ । त्यसैगरी आठ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको पनि कार्याकारी निर्देशक घिसिङले जानकारी दिनुभयो।
सन २०२१ नोभेम्बर बाट विद्युत निर्यात शुरु गरेको नेपालले निर्यात परिमाण हरेक वर्ष बढिरहेको जनाउदै गत आर्थिक वर्षमा. १ अर्ब ९४ करोड युनिट विद्युत् निर्यात गरी १७ अर्ब ७ करोड रुपैयाँ आम्दानी गरेको उल्लेख गरेको छ । गत आर्थिक वर्षमा भारतबाट १ अर्ब ९१ करोड युनिट अर्थात १६ अर्ब ९३ करोड रुपैयाँ बराबरको विद्युत् आयात गरिए पनि गत आर्थिक वर्षमा आयातभन्दा करिव १३ करोड रुपैयाँ बढीको विद्युत् निर्यात गरी खुद आयत कर्ताबाट निर्यातकर्ता बन्न सफल भएको उल्लेख गरेको छ ।
पत्रकार सम्मेलनमा लेखा समितिमा अनावश्यक समेत रहेका एक ट्रक बिल किन पठाउनु भयो भनेर सञ्चारकर्मीले सोधेको प्रश्नमा कार्यकारी निर्देशक घिसिङले सबै सम्बन्धित र सपोर्टिङ डकुमेन्ट भएकाले अनावश्यक भन्न नमिल्ने जीकिर गर्नु भयो । डेडिकेटेट ट्रकलाइन महसुल विवाद अध्यानका लागि संसदको सार्वजनिक लेखा समितिले आवश्यक कागजात मागेपछि प्राधिकरणले हिजो पिकअप भ्यानमा भरेर कागजात सिंहदरबारस्थित लेखा समितिको सचिवालयमा पठाएको थियो ।