काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको संलग्नताको प्रमाण भएकाले नै संसदीय समितिमा नौ घण्टासम्म बयान दिनुपरेको बताएका छन् । उनले त्यसबारे अहिले नै संसदीय समितिको फैसला नआइसकेको भन्दै प्रमाण खोई भनेर खोज्नेहरूलाई त्यतिञ्जेल कुरेर बस्न आग्रह गरे ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद थापाले सहकारी ठगी प्रकरणमा लामिछानेको संलग्नताको प्रमाण भएको, संसदीय समिति गठन हुँदा आफूहरुले देखाएका प्रमाणहरु संसदीय समितिलाई बुझाइसकेको बताए ।
उनले भने, ‘केही दिनदेखि संसद्मा केही साथीहरुले प्रमाण खोई ? प्रमाण खोई ? भनेर खोजिराख्नु भएको पाएँ । त्यत्रो तथ्य, प्रमाणहरु भएरै त होला यत्रो संसद्मा संघर्ष गरेर संसदीय समिति हामीले बनाएका छौँ । त्यसको टीओआर हामीले लेख्न लगाएको हो । नाम लेख्न लगाएको हो । कम्पनीको नाम लेख्न लगाएको हो । ती प्रमाणहरु भएकै कारण होला कि नौ मिनेटमा चट् भनेको ठाउँमा ९ घण्टासम्म बयान दिनुपर्ने अवस्था त्यही तथ्य प्रमाण भएकोले नै आएको होला ।
मलाई त समितिमाथि पूरा विश्वास छ । सुर्य थापाले एकदम मेहनत गर्नुभएको छ । समितिमा भएका सबै साथीहरुमाथि विश्वास छ । बरु साथीहरु झुक्किनुभयो कि भन्ने लागेको छ मलाई । अहिले बयान भएको हो । सफाइ पाएको होइन । फैसला त आउनै बाँकी छ ।’
महामन्त्री थापाले फैसलासम्म कुर्न र फैसला आउने दिनसम्म कुरेर बस्न समेत आग्रह गरे ।