कांग्रेस पदाधिकारीहरू आन्तरिक छलफलमा
काठमाडौं । आज बिहीबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारीहरूको अनौपचारिक बैठक बस्दै छ । कांग्रेसको केन्द्रीय कार्यलय सानेपामा बिहीबार दिउँसो ३ बजे पदाधिकारीहरूको अनौपचारिक बैठक बस्न लागेको हो ।
सरकारले दानबहादुर कार्कीलाई आईजीपीबाट हटाएर मनोज कार्कीलाई नियुक्त गरेको लगायत पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे पार्टीको धारणा बनाउन बैठक बस्न लागेको कांग्रेसका एक नेताले जानकारी दिए ।
हालै सार्वजनिक इनम सापकोटाको अडियोमा सभापति गगन थापाले पार्टीलाई वैधानिक दिलाउन १८ करोड खर्चेको प्रसंग अहिले चर्चामा छ । यो प्रकरणलाई कांग्रेसले सरकारको षडयन्त्र भनेको छ । सरकारले निराधार कपोकल्पित र नियोजित आरोप लगाएर पार्टीको वैधानिकमाथि प्रश्न उठाउन खोजेको कांग्रेसको बुझाइ छ । सरकार प्रतिपक्षको आवाज थुन्न लागि परेको भन्दै न्यायपालिकाको स्वतन्त्रता र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप विरुद्ध राजनीतिक एवं कानुनी प्रतिवाद गर्ने कांग्रेसले बताउँदै आएको छ ।
कांग्रेसले पत्रकारहरूमाथिको धरपकड लगायत सरकारको पछिल्लो विवादित सबै गतिविधिविरुद्ध संसदीय छानबिन समिति गठन हुनुपर्ने माग राखेर चाँडोभन्दा चाँडो प्रतिनिधिसभाको बैठक बोलाउन माग समेत गरेको छ । पार्टीकी महामन्त्री डा. डिला संग्रौलाले अनौपचारिक बैठक बस्न लागेको बताइन् । उनले भनिन्, ‘औपचारिक बैठक होइन ।
हामीहरू अनौपचारिक छलफल गर्दैछौँ । समसामयिक विषयमा कुराकानी हुन्छ ।’ पार्टीका सहमहामन्त्री मनोजमणि आचार्यका अनुसार पार्टी संगठनको समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।

