लन्डन । नेपालका चर्चित कलाकारहरु भुवन केसी र मिरुना मगर शनिबार लण्डनको एक नेपाली रेष्टुरेन्टमा देखिए । सन्दर्भ थियो नेपाली फिल्म अवार्ड । अवार्डकै लागि अरु चर्चित कलाकारहरु पनि लण्डन आउने भएका हुन् ।
सन् १९६० मा स्थापित युरोपकै सबैभन्दा पुरानो नेपाली सामाजिक संस्था यती नेपाली एसोसिएसन यूकेले अवार्ड गर्न लागेको हो । बेलायतमा यति इन्टरनेसनल नेपाली फिल्म अवार्ड(२०२४ (इन्फा) को व्यापक तयारी भएको आयोजकले प्रेस सम्मेलनमा जानकारी दिए।
१४ सेप्टेम्बरमा शनिबार लन्डनस्थित ग्रीनफोर्ड टाउन हलमा हुन लागेको अवार्ड कार्यक्रममा भाग लिन कलाकारहरु अन्य कलाकारहरु अनमोल केसी, केकी अधिकारी, जसिता गुरुङ, जिया केसी, सुशान्त खत्री, मलिना जोशी, गरिमा शर्मा, शिल्पा मास्के पनि लन्डन आइसकेका छन् ।
अवार्डमा कुल ५६ वटा नेपाली चलचित्रबाट उत्कृष्ट छानिने र १६ विद्यामा अवार्ड दिइने आयोजकले जानकारी दिए । वरिष्ठ कलाकारहरु सुनिल थापा, गौरी मल्ल र उज्जवल घिमिरेको एक जुरीले ति फिल्म २६ दिन लगाएर मूल्यांकन गरेका हुन् ।
बिहीबार सांझ लन्डनमा आयोजित पत्रकार भेटघाटमा यती अध्यक्ष पिपला देवान , प्रमुख संयोजक उमेशराज मोक्तान , महासचिव टंक भट्टराई र उपमहासचिव आशिष पन्तले पहिलोपल्ट गर्न लागेको भए पनि सबैको सहयोग हुने अपेक्षा गर्दै उपस्थितिको लागि आव्हान गरे ।
अभिनेता भुवन केसीले अवार्ड कार्यक्रमले नेपाली चलचित्र उद्योग, कलाकार र कला संस्कृतिलाई प्रवर्धन प्रोत्साहन गर्ने आशा व्यक्त गरे । यस्ता कार्यक्रमको निरन्तरताले भविष्यमा लन्डन नेपाली फिल्मको मुख्य बजार बन्न सक्ने उनको अपेक्षा थियो ।