काठमाडौँ । राष्ट्रिय सभा सदस्य आनन्दप्रसाद ढुंगानाविरुद्ध सर्वोच्च अदालतमा अवहेलनाको निवेदन दर्ता भएको छ । न्यायाधीशहरूको संसदीय सुनुवाइका क्रममा असम्बन्धित न्यायाधीशको कार्यसम्पादनबारे प्रश्न उठाएको भन्दै ढुंगानाविरुद्ध निवेदन दर्ता भएको हो ।
अधिवक्ता त्रिलोक बहादुर चन्द लगायतले उनीमाथि अवहेलनामा कारबाही गर्नुपर्ने माग राखी निवेदन दर्ता गराएका हुन् । गतसाता दर्ता भएको निवेदनमा सर्वोच्च अदालतमा मंगलबार प्रारम्भिक सुनुवाइ हुनुपर्ने थियो ।
२३ कात्तिकमा न्यायाधीशहरू नृपध्वज निरौला र नित्यानन्द पाण्डेयको संसदीय सुनुवाइका क्रममा संसदीय सुनुवाइ समितिका सदस्य समेत रहेका ढुंगानाले गण्डकी प्रदेश सभाको विवादका क्रममा न्यायाधीशहरू सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासले गरेको आदेशमाथि प्रश्न उठाएका थिए ।
दलहरूप्रति झुकाव राख्ने व्यक्ति पनि न्यायाधीश भएमा न्यायपालिका प्रवेश गरेपछि राजनीतिक चप्पल फुकाल्नुपर्ने भन्दै उनले उक्त आदेशमाथि प्रश्न उठाएका थिए ।
असम्बन्धित न्यायाधीशले गरेको आदेशका बारेमा प्रस्तावित न्यायाधीशलाई प्रश्न सोधेको र त्यस्ता गतिविधिले न्यायपालिकाको मर्यादामा प्रहार भएको भन्दै निवेदनहरूले अवहेलनामा कारबाही हुनुपर्ने माग राखेका हुन् ।