२८ मंसिर २०८१, शुक्रबार
Follow Us

सकुशल फर्किए सचिन भट्टराई

नेपालब्रिटेन डट कम्
१२ मंसिर २०८१, बुधबार ०३:३७

लन्डन । गएको आठ दिनदेखि बेलायतमा हराइरहेका नेपाली विद्यार्थी सचिन भट्टराई सकुशल भेटिएका छन्।

बिस्टलमा उनी संगै बस्ने साथी स्पन्दन वाग्लेले आइतबार बेलुका सचिन आफ्नो डेरामा फर्किएको जानकारी दिए ।

यस अघि उनले ब्रिस्टल प्रहरीमा गएर बयान दिएका थिए। उनी कसरी हराए र कसरी भेटिए भन्ने बारे प्रहरीले केही बताएको छैन।

उच्च शिक्षाका लागि करिब दुई महिनाअघिमात्र बेलायत आएका सचिन भट्टराईको खोजीमा सहयोग गरिदिन उनको परिवारले आग्रह गरेको थियो ।

युनिभर्सिटी अफ वेष्ट इंग्ल्यान्डमा एमबीए अध्ययनरत मोरङ सुन्दरहरैचा–७ गोठगाउँ घर भएका २४ वर्षीय भट्टराई गत १६ नोभेम्वर शनिबार बेलुकीदेखि सम्पर्कविहीन थिए ।

सचिनले स्थानीय डोमिनोज पिज्जामा काम गर्दै आएका थिए । १६ नोभेम्बर राती डेरामा नफर्केपछि उनी संगै बस्ने साथी स्पन्दन वाग्लेले आइतबार उनको परिवार र सोमबार प्रहरीलाई खबर गरेका थिए ।

गत सेप्टेम्बर २१ मा मात्रै लन्डन आएका सचिन दुई महिना हुन नपाउँदै बेपत्ता हुँदा परिवार चिन्तित थियो ।

सचिनका पिता शशीकान्त भट्टराईले आफ्नो छोराको खोजी गर्न सहयोग गर्ने र चासो देखाउने ब्रिटिश प्रहरी, नेपाली दूतावास लगायत बेलायतस्थित नेपाली समुदायलाई हार्दिक धन्यवाद दिएका छन् ।

लन्डनस्थित नेपाली दूतावास, एनआरएनए युके लगायतले उनको खोजीका लागि ब्रिस्टल प्रहरीसंग समन्वय गर्नुका साथै नेपाली समुदायलाई आग्रह गरेका थिए ।