लण्डन । अमेरिकाको क्यालिफोर्निया राज्यको हर्कुलिस शहरका वर्तमान योजना आयुक्त डिल्ली भट्टराई हर्कुलिस शहरका नगर परिषदमा बिजयी भएका छन्। भट्टराईले गत डिसेम्बर १०, मंगलबारको दिन सपथ ग्रहण गरे।
उनी सन् २०२५ – २०२६ का लागि नगर परिषद सदस्य (काउन्सिल मेम्बर), २०२७ मा उप नगर प्रमुख (डेपुटी मेयर) र २०२८ का लागि नगर प्रमुख (मेयर)को रूपमा सेवारत रहने गरी सपथ ग्रहण सम्पन्न भएको हो।
यसरी नगर प्रमुख बन्ने क्रममा भट्टराई अमेरिकी इतिहासमा नेपाली मूलका पहिलो नगर प्रमुख बन्ने भएका छन्। नोभेम्बर ५ का दिन सम्पन्न आम निर्वाचनमा शानदार जित प्राप्त गरेका भट्टराईले चार वर्षे कार्यकालका लागि सन् २०२५ – २०२६ का लागि नगर परिषद सदस्य (काउन्सिल मेम्बर), २०२७ मा उप नगर प्रमुख (डेपुटी मेयर), र २०२८ मा नगर प्रमुख (मेयर)को रूपमा सेवारत रहने गरी मङ्गलबार साँझ हर्कुलिस शहरको सभाकक्षमा विशेष समारोहमा सपथ ग्रहण गरेका थिए।
यससँगै भट्टराईलाई क्यालिफोर्निया राज्यस्तरका उच्च जिम्मेवारीका लागि पनि अवसर मिलेको छ। डेमोक्र्याटिक पार्टी र स्थानीय तहमा उनको लोकप्रियता र बलियो पकडले आगामी निर्वाचनमा उनलाई क्यालिफोर्निया राज्यसभाका बलियो उम्मेदवारका रूपमा हेरिन थालेको छ, स्थानीय राजनीतिक विश्लेषकहरूको अनुमान छ।
गत नोभेम्बर ५ का दिन सम्पन्न अमेरिकी आमनिर्वाचनमा ४ जना उम्मेदवारको बीचमा भट्टराई दोस्रो स्थानमा पर्न सफल भएका थिए।
स्मरण रहोस्, भट्टराई उम्मेदवार हुँदा हर्कुलिस नगरका पाँच जना नगर प्रमुख, उप प्रमुख र सबै नगर परिषद सदस्यहरूले उनलाई अनुमोदन गरेका थिए। यस नगरका पूर्व प्रभावशाली नगर प्रमुखहरूको पनि उनलाई साथ र समर्थन प्राप्त थियो।
भट्टराई क्यालिफोर्निया राज्यमा लामो समयदेखि बसोबास गर्दै आएका नेपाली मूलका सक्रिय सामाजिक अभियन्ता हुन् र विभिन्न संघसंस्थामा आबद्ध छन्।