२ फाल्गुन २०८१, शुक्रबार
Follow Us

एनआरएनको अधिकार खोसिन्न : गृह मन्त्री लेखक

नेपालब्रिटेन संवाददाता
३ माघ २०८१, बिहीबार १७:०६

लण्डन। गृह मन्त्री रमेश लेखकले गैरआवासीय नेपालीहरूको अधिकार नखोसिने बताएका छन्।

लेखकले गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीसँग बिहीबार साँझ भएको भेटमा १० वर्षे भिसाको व्यवस्था अस्थायी रहेको र आगामी हिउँदे अधिवेशनमा प्रतिस्थापन गरिने प्रतिबद्धता जनाए।

अध्यक्ष डा. केसीले संघको ध्यान आकर्षण गर्दै, अध्यादेशमा गैरआवासी नेपाली नागरिकहरूलाई १० वर्षको भिसा दिने व्यवस्था राखिएको जानकारी दिएका थिए।

डा. केसीले आफ्नै नागरिकलाई स्वदेश प्रवेश गर्दा भिसा लिनु पर्ने विरोधाभाषपूर्ण अध्यादेशले समस्त गैरआवासीय नेपालीहरूलाई निराश तुल्याएको जानकारी मन्त्री लेखकलाई दिएका थिए।

लेखकसँग गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनको विषय र हालै सरकारले जारी गरेको अध्यादेशको विषयमा गम्भीर छलफल भएको थियो।

भेटमा गृहमन्त्री लेखकले गैरआवासीय नागरिकता लिएका व्यक्तिहरूलाई संविधानमा उल्लेख भएअनुसारको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रयोग गर्न पाउने गरी आगामी हिउँदे अधिवेशनमा कानूनी प्रबन्ध गरिने प्रतिबद्धता गरे।

मन्त्री लेखकले अहिलेको अध्यादेश प्रतिस्थापन गर्ने कानूनी व्यवस्था गर्दा गैरआवासीय नेपालीहरूलाई नेपालमा आवतजावत गर्दा र बसोबास गर्दा भिसा नचाहिने कानूनी व्यवस्था बन्ने प्रतिबद्धता जनाएका छन्, डा. केसीले जानकारी दिए।