२ भाद्र २०८३, मंगलवार
Follow Us

राजदूत पौडेलद्वारा विपिन जोशीको रिहाइका निम्ति सघाउन आग्रह

नेपालब्रिटेन संवाददाता
१४ माघ २०८१, सोमबार ०६:०९

दोहा । कतारका लागि नेपालका राजदूत रमेशचन्द्र पौडेलले प्यालेस्टाइनको गाजामा हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको यथाशीघ्र रिहाइका लागि सहजीकर्ताको भूमिका निर्वाह गर्न कतारका अमिरशेख तमिम बिन हमाद अल थानीसमक्ष अनुरोध गरेका छन् ।

इजरायल र प्यालेस्टाइनबीच युद्धविराम गर्न मध्यस्थताको लागि अमिर र कतार सरकारले निर्वाह गरेको नेतृत्वदायी भूमिकाप्रति आभार व्यक्त गर्दै जोशीको रिहाइका निम्ति सहयोग गर्न आग्रह गरिएको दोहास्थित नेपाली राजदूतावासले जनाएको छ ।

राजदूत पौडेलले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेपछि भएको शिष्टाचार भेटमा उक्त आग्रह गरेका हुन् ।

उनले गत अप्रिल २० मा अमिरबाट भएको नेपाल भ्रमणपछि दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको बताउँदै राष्ट्रपति रामचन्द्र पौडेलकातर्फबाट अमिरको सुस्वास्थ्यका साथै कतार र त्यहाँका जनताको निरन्तर प्रगतिको कामना व्यक्त गरेका थिए ।

अमिरले राजदूत पौडेललाई स्वागत गर्दै कतारी अमिरले द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन राजदूतलाई कतार सरकारले हरसम्भव सहयोग गर्ने जानकारी दिएका थिए ।

धेरै पढिएको