१० बैशाख २०८२, बुधबार
Follow Us

पत्रकार प्रेम बानियाद्वारा देश चिनाउने नयाँ वृत्तचित्र सार्वजनिक गर्ने घोषणा (भिडियो)

नेपालब्रिटेन डट कम्
१ बैशाख २०८२, सोमबार २०:३९

जिरो टू ८८४८’ नामक नयाँ वृत्तचित्र

लन्डन। वरिष्ठ पत्रकार प्रेम बानियाले नेपालको पहिचान विश्वभर फैलाउने उद्देश्यसहित ‘जिरो टू ८८४८’ नामक नयाँ वृत्तचित्र सार्वजनिक गर्ने घोषणा गरेका छन्। नेपाली नयाँ वर्ष २०८२ को पहिलो दिन सोमवार एक भिडियो सन्देशमार्फत उनले यो वृत्तचित्रले आशाको सन्देश बोकेको र नेपाललाई विश्वमाझ नयाँ ढंगले चिनाउने दाबी गरेका छन्। देशदेखि टाढा रहँदा पनि मातृभूमिप्रतिको लगाव र केही गर्ने अठोट झन् बलियो बन्दै गएको उल्लेख गर्दै बानियाले राजनीतिबाहेकका क्षेत्रहरूबाट पनि राष्ट्रसेवा सम्भव हुने बताए।

उनका अनुसार, ‘जिरो टू ८८४८’ विगत दुई वर्षको निरन्तर मेहनतबाट तयार पारिएको एक विशेष परियोजना हो, जसले नेपाललाई नयाँ सम्भावना र समृद्धिको आधार प्रस्तुत गर्नेछ। उक्त वृत्तचित्रमा सगरमाथा आरोही तथा हलिउड अभिनेता र North Face का ब्राण्ड एम्बासडर कोन्राड एन्कर, १७ पटक सगरमाथा आरोहण गरेका टेण्डी शेर्पा, विश्व साइकल यात्री तथा सगरमाथा आरोही पुष्कर शाह, र अनुभवी आरोहण सहयोगी आडपासाड शेर्पाको सगौरवपूर्ण सहभागिता रहेको जानकारी उनले भिडियोमा दिएका छन्।

बानियाले यो अभियानको नेतृत्व आफूले गरिरहेको उल्लेख गर्दै वृत्तचित्र यसै वर्ष विभिन्न अन्तर्राष्ट्रिय शहरहरूमा सार्वजनिक गरिने जानकारी दिएका छन्। साथै, उनले इच्छुक व्यक्तिहरूलाई अभियानमा सहकार्य गर्न खुला आह्वान गर्दै सम्पर्कका लागि इमेल मार्फत जानकारी दिन आग्रह गरेका छन्