काठमाडौं । बेलायतमा बसेर व्यवसाय गर्दै आएका नेपाली उद्यमी विकास नेपालले अन्तर्राष्ट्रियस्तरको ‘उद्यमी वर्ष २०२५’ पाएका छन् ।
नेपाल फुड्स कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत विकासलाई इन्डो–ब्रिटिश बिजनेस फोरमले ‘उद्यमी वर्ष २०२५’ को प्रतिष्ठित पुरस्कार प्रदान गरेको हो ।
यो सम्मान बेलायतको संसद भवन हाउस अफ लर्ड्समा आयोजित एक समारोहका बीच प्रदान गरिएको हो । उक्त पुरस्कारमार्फत नेपाली खाद्य सामग्रीको अन्तर्राष्ट्रियकरणमा विकासले पुर्याएको योगदानको उच्च मूल्याङ्कन गरिएको छ ।
यसअघि पनि उनले खाना तथा पेयपदार्थको क्षेत्रको सबैभन्दा ठूलो पुरस्कारमध्ये एक मानिने ‘ग्रेट टेस्ट’ अवार्ड पाएका थिए । गिल्ड अफ फाइन फुडद्वारा प्रदान गरिने उक्त अवार्डका लागि सन् २०२४ को प्रतिस्पर्धामा ११५ वटा देशबाट १३ हजारभन्दा बढी उत्पादनले आवेदन दिएका थिए ।
विकास सञ्चालक रहेको नेपाल फुड्सले नेपालबाट २५ देशमा नेपाली मौलिक खाद्य सामग्री निर्यात गर्दै आएको छ । नेपालमा उत्पादन भएको करिब ३ सयभन्दा धेरै वस्तु विश्वका विभिन्न देशमा निर्यात भइरहेको छ ।
नेपाली स्वाद र संस्कृति विश्वभर चिनाउने अभियानमा रहेका विकास सन् २००९ मा मास्टर्स इन मार्केटिङ गर्न लन्डन पुगेका थिए । सन् २०१८ मा उनले नेपाल फुड्सको स्थापना गरे र भान्सामा चाहिने नेपाली उत्पादन दाल, चामल, बेसार, मसला, चियापत्ती जस्ता दैनिक उपभोग्य सामग्रीहरु आफैं प्रशोधन तथा उत्पादन गर्न थाले ।
काठमाडौंको ताहाचलमा उनले आफ्नो फ्याक्ट्री स्थापना गरेका छन् । नेपाल फुड्सले नेपालमा उत्पादन सुरु गरी लन्डनलाई प्रमुख व्यापारिक केन्द्र बनाउने लक्ष्य बनाए पनि हाल धेरै देशमा विस्तार भएको सम्मानित विकासले बताएका छन् ।