लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय समिति (एनसीसी) ले संघको मान्यता प्राप्त गर्न अब अनिवार्य रूपमा एमआईएस (मेम्बर इन्फरमेसन सिस्टम) मार्फत सदस्यता वितरण गर्नुपर्ने भएको छ।
संघका महासचिव गौरीराज जोशीले एक पत्राचारमार्फत स्पष्ट रूपमा सूचित गरेका छन् कि यदि कुनै राष्ट्रिय समन्वय परिषद (एनसीसी) ले एमआईएस प्रणाली प्रयोग नगरी सदस्यता वितरण गर्ने प्रयास गर्छ भने संघको विधान २००३ (२०२२ मा संशोधित) को दफा १७ (७) अनुसार त्यस परिषद्को मान्यता खारेज गर्न सकिनेछ। साथै, त्यस्तो अवस्थामा वैकल्पिक माध्यमबाट सम्बन्धित राष्ट्रको महाधिवेशन सम्पन्न गरिने पनि पत्रमा उल्लेख गरिएको छ।
संघको विधानको अनुसूची ८ (ख) अनुसार सदस्यता वितरण अनिवार्य रूपमा अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) द्वारा तोकिएको एमआईएस प्रणाली मार्फत मात्र गर्नुपर्ने स्पष्ट कानुनी व्यवस्था रहेको छ।
यसैबीच, गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन २०२५ अक्टोबर ११ मा काठमाडौँमा सम्पन्न हुने तय भएको छ। सो महाधिवेशनमा सहभागी हुनका लागि एनसीसीहरूले आगामी जुलाईको अन्तिम साता भित्र आफ्ना निर्वाचन प्रक्रिया सम्पन्न गरिसक्नुपर्ने वैधानिक व्यवस्था छ।